एनसेल र पुल्चोक क्याम्पसबीच छात्रवृत्ति तथा उत्कृष्टता सम्मानलाई निरन्तरता दिन सहमति

Advertisement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौता गरेको छ । नयाँ सहमतिअनुसार इन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ ।

एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्याउँदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्याउने लक्ष्य लिइएको जनाएको छ । यस सहमतिअनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ सालदेखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई रु १ करोड ३० लाख रुपियाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।

एनसेल वित्तिय प्रमुख कनिश्क गयानविक्रमा र पुल्चोक क्याम्पसका डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिअनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पाँचवर्षसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ ।

छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्ने जनाइएको छ । साथै, उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजासहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल प्रदान गर्ने कम्पनीको विश्वास छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपियाँको रहेको छ ।

Advertisement

Advertisement

Advertisement