अब काठमाडौंको कुना कुनामा सिसिटिभी क्यामरा, सुरक्षा निगरानी सहज हुने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने भएको छ । उपत्यकामा हाल सञ्चालनमा रहेका ५ सय ६९ सिसिटिभीबाहेक काठमाडौं महानगरपालिकाभित्र मात्रै थप १ सय ६१ वटा जडान गर्न लागिएको हो ।

अबको दुई महिनाभित्र काठमाडौका सबै चोकमा सिसिटिभी जडान गर्ने योजना छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी होबिन्द्र बोगटीले ती सिसिटिभी जडान भएपछि उपत्यकाको सुरक्षा व्यवस्था निगरानी गर्न सहज हुने बताए ।

५ करोड ८१ लाख रुपियाँमा टेन्डर स्वीकृत भइसकेको जानकारी दिँदै कामपा प्रहरी प्रमुख डिएस्पी धनपति सापकोटाले महानगरपालिकाले छनोट गरेका ४२ बाहेकका अन्य स्थानमा प्रहरीले सिसिटिभी जडान गर्न लागेको बताए । उनले थपे– ‘करिब ३ महिना लामो अध्ययनपछि महानगर क्षेत्रमा सिसिटिभी जडान गर्ने स्थान पहिचान गरेका हौँ ।’

सापकोटाका अनुसार महानगरको नया बसपार्क, गोगबु, पुरानो बसपार्क, महाराजगंज, त्रिपुरेश्वर, चावहिल, नयाँ बानेश्वर पुरानो बानेश्वर, थापाथली, दरबारमार्ग गौशाला, कालोपुल, न्युरोड, शहिदगेट, पुतलीसडक, वागबजार, कलंकी, कालीमाटी, कुलेश्वर, न्युरोड, लैनचौर, कलंकी, वालुवाटार, विष्णुमती, धोविखोला करिडोर, पुल आसपास रिङरोड क्षेत्रलगायतका स्थानमा उक्त टिभी जडान गरिनेछ ।

नयाँ जडान हुने सिसिटिभी भीआइपी ओहोरदोहोर गर्ने बाटो, कार्यालय, बसपार्क, मान्छेहरु बढी भिडभाड हुने क्षेत्रमा केन्द्रित गरिएको छ ।

परिसर प्रवक्ता बोगटीले राजधानीको सुरक्षा मजबुतीको लागि महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा बढी सिसिटिभी राख्ने योजना रहेको बताए । हाल जडान गर्न लागिएको सिसिटिभी अन्य जडान गरिएको भन्दा बढी गुणस्तरीय हुनेछ । हाइ मेघापिक्सल क्वालिटी भएको सिसिटिभी महानगरको मुख्य बजारको विभिन्न क्षेत्रमा राख्ने बताइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले उपत्यकाको सुरक्षा व्यवस्थालाई थप सुरक्षित पार्न महानगरपालिकाको सहकार्यमा सिसिटिभी जडान गर्न लागिएको बताए ।

हाल उपत्यकाका ५ सय ६९ सिसिटिभी अपरेशन गरीरहेको कार्यालयका सिसिटिभी अप्रेशन युनिटले थप १ सय ६१ सिसिटिभीको अपरेशन गर्ने भएको छ । राजधानीमा विभिन्न निकायले आफुखुसी जडान गरेका बाहेक प्रहरीले सिसिटिभीमा देखिएका दृश्य अनुगमन गर्न छुट्टै युनिट खडा गरेको छ । ‘सोही युनिटले सबै सिसिटिभीको अनुगमन गर्नेछ’ –प्रवक्ता एसएसपी ज्ञवालीले भने । उनका अनुसार अब जडान गर्ने समेत गरी करिब ७ सय सिसिटिभी अप्रेसन गर्ने जिम्मा रानीपोखरी प्रहरी कार्यालयको भएको छ ।

महानगरपालिका प्रहरी प्रमुख सापकोटाले पछिल्लो समय राजधानीको चोरीको घटना बढ्न थालेपछि कामपाले महानगरीय प्रहरी परिसर काठमाडौसंग सहकार्य गरी सिसिटिभी जडान गर्न लागिएको जानकारी दिए । हाल जडान गर्ने सिसिटिभी भीआईपी रुटलाई फोकस गरिएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement