काठमाडौं । पतन्जलीका उत्पादनहरुका कारण आफ्ना उत्पादनहरुको बिक्री ह्वात्तै घटेपछि बहुर्राष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडले आफ्ना सहायक उद्योगहरु बन्द गर्न बाध्य भएको छ । कम्पनीले हेटौंडामा रहेका तीन सहायक उद्योगहरुमध्ये दुई वटा बन्द गरेको छ । प्राविधिकरुपमा कम्पनीले लगानीकर्तालाई नाफा भइरहेको भनेर देखाए पनि खस्कँदो व्यापारले गर्दा उनको वित्तीय अवस्था भित्रभित्रै नाजुक बन्दै गएको छ ।
पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्री बढेसँगै पछिल्लो समयमा युनिलिभरका उत्पादनहरुका झण्डै आधै कमी आएको छ । स्थानीय उद्योगीहरुले सञ्चालन गरेका युनिलिभरका सहायक उद्योग बन्द गर्ने निर्णय गरेसँगै उद्योग सञ्चालन गर्ने उद्योगी र त्यहाँ कार्यरत मजदुरहरु अन्योलमा परेका छन । उनीहरुलाई क्षतिपूर्ति दिने कुरामा युनिलिभर उदासिन देखिन्छ ।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिज बन्द भएको आठ महिना भइसक्दा पनि त्यहाँ कार्यरत मजदुरहरुलाई कानुनअनुसार दिनुपर्ने सुविधा दिने कुरामा कुनै चासो नदेखाइएको पीडितहरु बताउँछन् । विभिन्न किसिमका सर्फ उत्पादन गर्ने गरेको सो उद्योगमा एक सय ११ जना कामदार कार्यरत थिए ।
सोही औद्योगिक क्षेत्रमै सञ्चालित गंगा सोप एन्ड केमिकल इन्डस्ट्रिज बन्द भएको एक महिना भइसकेको छ । कम्पनीका कार्यरत मजदुरहरु आफूहरुले पाउनुपर्ने तलव सुविधाका लागि आन्दोलन गर्दै आए पनि युनिलिभरले बेवास्ता गर्दै आएको छ । सहायक उद्योग सञ्चालक इन्द्र बानियाका अनुसार उसले सहायक उद्योगहरुलाई दिनुपर्ने करोडौं रुपियाँ पनि भुक्तानी नदिने, उत्पादित कच्चा पदार्थ पनि प्रयोग नगर्ने, कर्मचारीलाई पनि उचित क्षतिपूर्ति दिन आनाकानी गरिरहेको छ । उत्पादन घटेसँगै युनिलिभरको सेयरमा समेत गिरावट हुँदै गएको छ । भारतमा समेत पतन्जली र हिन्दुस्थान युनिलिभरबीचको व्यापार द्धन्द्ध चर्को रहेको छ ।