२२.२ मेगावाटको तल्लो हेवा जेठ १५ देखि केन्द्रिय प्रसारणमा जोडिने

Advertisement

काठमाडौं । २२.२ मेगावाटको तल्लो हेवा जलविद्युत आयोजनाले जेठ १५ गतेबाट केन्द्रिय प्रसारणमा जोडिने भएको छ । पाँचथरमा निर्माण सम्पन्न आयोजनाबाट अबको एक सातामा विद्युत उत्पादन भई केन्द्रिय प्रसारणमा जाडिन लागेको हो ।

१५ दिनको परीक्षण उत्पादनपछि जेठको अन्त्यबाट आयोजनाले व्यावसायिक विद्युत उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ । आयोजनाको ड्राइ टेष्ट सम्पन्न गरेर बाँध, पेनस्टक पाइप तथा सुरुङमा पानी भरेर परीक्षण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरेपछि विद्युत उत्पादन सुरु हुने र आयोजना र ठेकेदारले गर्ने परीक्षणपछि प्राधिकरणको प्राविधिक टोलीले आएर हेर्छ र परीक्षण उत्पादन गर्नेछ ।

परीक्षणका क्रममा इन्टेक गेटबाट पानी चुहिएकाले त्यसको मर्मतको काम अहिले भइरहेको छ । हेवाको पानी फेमेको बाँधमा ल्याउन निर्माण गरिएको संरचना जडान भएको स्थान केही रसाएकाले समस्या समाधानको प्रयास भइरहेको जानकारी दिईएको छ ।

विद्युतगृहमा पानी खसालेर परीक्षणको चरण पूरा भएको छ । अहिले सबै संरचनाको पानी सुकाउने काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा आएका समस्याको समाधान भएपछि प्राधिकरण टोलीले आयोजनाको परीक्षण सुरु गर्नेछ ।

आयोजनाबाट २ वर्षअघि नै विद्युत उत्पादन गर्ने तालिका भए पनि १३२ केभी काबेली कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाइले आयोजनाको उत्पादन पछि धकेलिँदै आएको थियो । काबेली कोरिडोरको दोस्रो खण्ड सञ्चालन भएपछि आयोजनाबाट विद्युत उत्पादन गर्न लागिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युत प्राधिकरणको थापाटार सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । प्रसारण लाइनको परीक्षण पनि पूरा भएको जनाईएको छ ।

२१.६ मेगावाटमा डिजाइन गरिएको आयोजना ५ मिटर हेड बढाएर २२.२ मेगावाटमा निर्माण गरिएको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ११ करोड रुपियाँ खर्च भएको छ ।

३ अर्ब ११ करोड रुपियाँ लागत अनुमान गरिए पनि आयोजनाको उत्पादन अवधि पछि धकेलिँदा २० करोड रुपियाँ लागत थपिएको कम्पनीले जनाएको छ । आयोजनामा प्राइम बैंकको अगुवाइमा १२ बैंकको ऋण लगानी छ ।

Advertisement

Advertisement

Advertisement