गौतमबुद्ध विमानस्थलको धावनमार्ग बन्यो, अब लाइटिङ र मार्किङ गरिने

Advertisement

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे (धावनमार्ग) निर्माणको काम सम्पन्न भएको छ ।

विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अब लाइटिङ र मार्किङको काम सुरु हुनेछ ।

राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए ।

यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो ।
निर्माण सम्पन्न भएसँगै अब सो रनवेमा आपतकालीन र परीक्षण उडान गर्न सकिने भएको छ । रनवे निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ले पाएको थियो । आयोजना अन्तर्गत अहिले रहेको पुरानो विमानस्थलको धावनमार्गलाई ‘ट्याक्सी वे’ बनाउने उद्देश्य छ ।

विमानस्थलअन्तर्गत धावनमार्ग सकिए पनि टर्मिनल भवन, कन्ट्रोल टावर, पानी ट्याङ्की तथा अन्य आवश्यक पूर्वाधार निर्माणको काम भने जारी रहेको विमानस्थल आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख अधिकारीले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जानकारी दिए । “अब करिब ५८ प्रतिशत उपकरण जडानको काम बाँकी हो”–उनले भने । अधिकारीले जहाज पार्किङ ढलानको काम पुरा भइसकेको बताए ।

यो आयोजनाको लागत करिब छ अर्ब २२ करोड रुपियाँ रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको मापदण्ड अनुसार यो विमानस्थल ‘फोर इ’ स्तरको विमानस्थल हो । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्न सकिने लक्ष्यसहित यो विमानस्थल निर्माण भइरहेको हो । यो विमानस्थल डिसेम्बर २०१७ मै सक्ने लक्ष्य भए पनि विभिन्न अवरोधनका कारण जुन २०१९ सम्म सक्नुपर्ने लक्ष्य तोकिएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement