हेटौँडामा स्मार्ट लाइसेन्स वितरण शुरु

Advertisement

हेटौँडा । हेटौँडामा स्मार्ट लाइसेन्स वितरण शुरु भएको छ । आज बुधबार प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाद्वारा शुरु गरिएको सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले सवारी अनुमतिपत्र स्मार्ट कार्ड प्राप्त गर्ने २६ जना मध्ये नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष माधव अधिकारी, हेटौँडा उद्योग सङ्घका पूर्वअध्यक्ष ऋषिराम घिमिरे, समाजसेवी सुयस पराजुली, केशवलाल श्रेष्ठ र महिला सेवाग्राही सुरक्षा पौडेललाई स्मार्ट कार्ड वितरण गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले यातायात क्षेत्रमा देखिएको अनियमित कार्य र विसङ्गतिलाई अन्त्य गरी सेवाग्राहीलाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेश सरकारको उच्च प्राथमिकता रहेको बताए ।

प्रदेश सरकारले अब छ महिनाभित्र प्रदेशको १३ जिल्लामा स्थायी राजधानी तोकिएपछि हेटौँडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने प्रणाली लागू गर्न गृहकार्यका साथ प्रक्रिया अघि बढाइसकेको उनले स्पष्ट पारे ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले स्मार्ट कार्ड वितरण अभियानलाई निरन्तरता दिने र नयाँ सेवाग्राहीका लागि सवारी अनुमतिपत्र दुई महिनाभित्रै वितरण गर्ने कार्यलाई सहज पार्न प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

सेवाग्राहीका तर्फबाट नारायणी यातायात सङ्घका पूर्वअध्यक्ष गोकर्ण पराजुली र माधव अधिकारीले यातायात क्षेत्रबाट सेवाग्राहीलाई दिँदै आएको कर दस्तुरलाई प्रदेश सरकारले पुनः समीक्षा गरी करको दरलाई घटाउन आग्रह गर्दै यातायात कार्यालयले १३ वटै जिल्लाबाट आएका सेवाग्राहीलाई निष्पक्ष एवं पारदर्शी र व्यावहारिक अनुकूलता हेरी स्मार्ट कार्ड र यातायात व्यवसायीलाई सवारीको साधनलाई नवीकरण गर्ने कार्यलाई निरन्तरता दिन सुझाव दिए ।

Advertisement

Advertisement

Advertisement