काठमाडौंका बस्ती र सडक नजिक रहेका पेट्रोल पम्प हटाइने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ ।

हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेकाले अनुगमन गरी वास्तविकता पत्ता लगाउन अनुगमन गरिएको महानगरको सहरी सुशासन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एकरएक सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरी अनुगमन गरिएको हो ।

समितिले ल्याएको अनुगमन प्रतिवेदनका आधारमा बढी जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने उनले बताए । प्रतिवेदनका आधारमा स्थानान्तरण गर्न सकिनेलाई स्थानान्तरण गर्ने र नमिल्नेलाई थप व्यवस्थापनको सम्बन्ध भएका निकायलाई आग्रह गरिने उनले बताए ।

पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि महानगरले अध्ययन थालेको हो । सडकको धेरै नजिक, सवारी साधनमा तेल भरिराख्दा सर्वसाधारणलाई आवागमनमा समस्या देखिएका तथा बस्तीको हिसाबले अत्यन्तै नजिक रहेका पम्प मानवीय जोखिमका मानिन्छन् । मानवीय हिसाबले जोखिम मानिले पम्प धेरै रहेको भन्ने जनगुनासो आएपछि अनुगमन गरिएको हो । हाल कामपामा कूल ७५ पम्प छन् ।

Advertisement

Advertisement

Advertisement