नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

Advertisement

काठमाडौं । नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जामन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले समझदारीपत्रमा मंगलवार हस्ताक्षर गरे ।

दुई देशबीच उर्जाको क्षेत्रमा लगानी, प्राविधक सहयोग तथा अनुभव आदान प्रदान गर्ने सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमूह बनाएर काम गर्ने समझदारी समेत भएको छ ।

समझादारीअनुसार उर्जा र वैकल्पिक क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।

मन्त्री पुनले अष्ट्रियासँग भएको समझदारी ऐतिहासिक भएको बताए । हस्ताक्षर कार्यक्रममा उनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै त्यसका लागी लगानी र प्राविधिक सहयोग गरिदिन आग्रह पनि गरे ।

पुनले नेपालमा लगानीको लागी उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी प्रेरित गरिदिन आफ्ना समकक्षी मन्त्रीलाई आग्रह गरे ।

अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा लगानी र सहकार्य गर्न ईच्छुक रहेको बताए । उनले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

मन्त्री पुनले वैकल्पिक उर्जा र जलविद्युतको क्षेत्रमा निजी र सरकारी तह दुवैमा सहकार्य अघि बढाउने विषयमा समझदारी बनेको जानकारी दिए ।

६० प्रतिशत उर्जाको स्रोत जलविद्युत रहेको अष्ट्रिया जलविद्युत क्षेत्रको प्रविधिका लागी समेत परिचित नाम हो । अष्ट्रियामा एन्ड्रिजलगायतका विश्व प्रसिद्ध कम्पनी समेत छन् ।

Advertisement

Advertisement

Advertisement