होसियार ! काठमाडौंमा पल्सर चढेर आउने, सिक्री लुटेर भाग्ने क्रम बढ्यो

Advertisement

काठमाडौं । धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन्। गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे।

गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे। मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन्। पल्सर मोटरसाइकलमा आएका दुई जनाले मीनाकुमारीको गलाको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे। गुहार माग्दा मोटरसाइकल धेरै टाढा पुगिसकेको थियो।

गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री लुटियो। मानिस आउजाउ कम भएको मौका छोपेर पल्सरमा आएका दुई जनाले याङ्जीको सिक्री थुतेर भागेका थिए।

यी तीनवटै घटना उदाहरणमात्रै हुन्। चैत दोस्रो सातादेखि जेठको पहिलो सातासम्म डेढ महिना अवधिमा उपत्यकामा नौ वटा सिक्री लुटपाटका घटना भएका छन्। प्रहरीले सबै घटनाका अभियुक्तलाई पक्राउ गर्न सकेको छैन। गर्मी सुरु भएपछि सिक्री लुटेर सलबलाउने गरेको विश्लेषण प्रहरीको छ। महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुले घटनाको अनुसन्धान गरिहरहेका छन्। प्रहरीले सकभर सक्कली गहना लगाएर हिँड्दा सावधानी अपनाउन पटकपटक सर्वसाधारणलाई सचेत गराउँदै आएको छ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले सिक्री लुटपाटका घटनाको अनुसन्धान भइरहेको बताए। उनले भने, ‘गर्मी सुरु हुनेबित्तिकै सिक्री लुटपाटका घटना सुरु हुन्छन्। एकान्त स्थानमा सिक्री लगाएर हिँडेका व्यक्ति लुटेराको निसानामा पर्छन्।’

पुराना सिक्री लुटपाटका घटनामा पक्राउ परेका अभियुक्तको अभिलेख हेरेर अनुसन्धान अगाडि बढेको जानकारी राठौरले दिए। ‘हामी गहना लगाएर नहिँड्नुस भन्दैनौं तर सर्वसाधरण आफैं सचेत भए लुटपाटका घटना हुँदैनन्,‘ राठौर भन्छन्, ‘प्रहरीले विशेष टोली बनाएर अनुसन्धान थालेको छ।’ महाशाखाका अनुसार लुटेराले सकभर सीसीटीभी नभएको स्थान र साँझको समयमा लुटपाट गर्दै आएको छ।

अझै सिक्री लुटपाटका घटना हुनसक्ने आंकलन गर्दै महाशाखा, काठमाडौं, ललितपुर र भक्तपुर प्रहरीलाई अर्लट गरिएको छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement