तेजपात भण्डारण प्रशोधन केन्द्रमा आगलागी, अढाई करोडको क्षति

Advertisement

गाईघाट । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुची बजारको तेजपात भण्डारण तथा जडीबुटी प्रशोधन केन्द्रमा भीषण आगलागी हुँदा अढाई करोड बराबरको क्षति भएको छ । बिहीबार साँझ ५ः३० बजेदेखि आगलागी शुरु भएको र प्रहरी, त्रियुगा नगरपालिकाको दमकल र स्थानीयवासीले गए राति १२ बजेमात्र आगलागी नियन्त्रणमा लिन सफल भएको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले बताए ।

तेजपातसहितको ठूलो भण्डारण घर र औषधि प्रशोधन केन्द्रसमेत भएको स्थानीयवासी भरत थापाको घरमा शुक्रबार साँझ अचानक आगलागी भएपछि घरमा भण्डारण गरिएको रु दुई करोड बराबरको तेजपात र अन्य प्रशोधन गरिएको औषधि पूर्णरूपमा जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

साँझ अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर नगरपालिकाको दमकल झिकाएको थियो । बेलुका ८ बजे दमकल घटनास्थल पुगेपछि प्रहरीको टोली, दमकल र स्थानीयवासीको सहयोगमा रातको १२ बजे मात्र आगलागी नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख राईले बताए ।

आगलागी नियन्त्रण ढिलै भए पनि मुर्कुची बजारका अन्य घर भने आगलागी हुनबाट बच्न सफल भएको पनि प्रहरीले बताएको छ । जिल्ला सदरमुकाम गाईघाटदेखि १५ कोष उत्तरपश्चिम पहाडी क्षेत्रमा रहेको मुर्कुची बजारमा दमकल र प्रहरीको टोली पनि पुग्न समय लागेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको प्रहरीले बताएको छ ।

औषधि प्रशोधन तथा तेजपात खरीदकर्ता भरत थापा राजधानी काठमाडौँतिर रहेको र घरमा औषधि प्रशोधन केन्द्रमा काम गर्ने मजदुर पनि कोही नभएको बेला अचानक आगलागी हुनुको कारण केही रहस्य भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले अहिले आगलागीको विषयमा अनुसन्धान शुरु गरिसकेको छ ।

आगलागी भएको औषधि प्रशोधन केन्द्रका सञ्चालक भरत थापा रौता मुर्कुची क्षेत्रको तेजपात खरीदकर्ता मध्यकै एक हुन् । उदयपुर जिल्लामा तेजपात उत्पादनमध्ये ५० प्रतिशत तेजपात रौता मुर्कुची क्षेत्रमा उत्पादन हुने गरेको छ भने थापाले वर्षेनी रु पाँच करोडभन्दा बढीको तेजपात खरीद गरेर भण्डारण गरी अन्यत्र बिक्री गर्ने र प्रशोधन गर्ने कार्य गर्दै आएको स्थानीयवासी बताउँछन् ।

Advertisement

Advertisement

Advertisement