डेढ वर्षको अवधिमा गाडी किन्न मै सकियो ११ करोड

Advertisement

काठमाडौं । डोटी जिल्लाका नौ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झण्डै ११ करोड खर्च गरेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा १० करोड ९३ लाख ८६ हजार आठ सय २९ रुपियाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको पाइएको छ । यो गाउँपालिकाले दीपायल सिलगढी नगरपालिका भन्दा एक करोड ६० लाख ६८ हजार एक सय ६३ रुपियाँ बढी खर्च गाडी खरिदमा गरेको छ ।

धेरै सवारीसाधन खरिद गर्नुपर्दा खर्च पनि गाउँपालिकाको भन्दा नगरपालिकाको धेरै हुनुपर्ने हो तर, डोटीमा त्यसको उल्टो देखिएको छ । नगरपालिकाभन्दा यहाँका गाउँपालिकाले गाडी खरिदसमेत बढी गरेका छन् । जिल्लाका अधिकाँश स्थानीय तहसँग एक्साभेटर र डोजरहरु छन् । कतिपय किन्ने तयारीमा छन् तर, डोजर प्रयोगको नीतिनियम पालना भएको छैन ।
पूर्वीचौकी गाउँपालिकाले २०७४ साउनदेखि २०७५ चैतसम्मको अवधिमा दुई करोड ६७ लाख ५५ हजार छ सय ५२ रुपियाँ विभिन्न सवारी साधन खरिदमा खर्च गरेको छ । दश मोटरसाइकल खरिदमा २४ लाख ९७ हजार दुई सय रुपियाँ खर्च भएको छ ।

त्यस्तै, ३७ लाख २० हजारमा पिकअप जीप, एक करोड २३ लाख ६२ हजार चार सय ५० रुपियाँमा एक्साभेटर खरिद गरिएको छ । यसैगरी, ८१ लाख ७६ हजार रुपियाँमा दुईवटा बस पनि गाउँपालिकाले किनेको छ ।

त्यसैगरी, शिखर नगरपालिकाले एक करोड ५४ लाख २९ हजार तिन सय रुपियाँ खर्च गरेर विभिन्न गाडी किनेको पाइएको छ । दुई वटा नगर बसमा ५६ लाख ६० हजार, टिपरमा ३८ लाख ६९ हजार, जीपमा ३६ लाख ९५ हजार, आठ वटा मोटरसाइकलमा २० लाख २६ हजार चार सय र एउटा स्कुटरमा एक लाख ७८ हजार नौ सय रुपियाँ खर्च भएको देखिएको छ । दीपायल सिलगढी नगरपालिकाले एक करोड छ लाख ८७ हजार चार सय ८९ रुपियाँ खर्चेर गाडी खरिद गरेको छ । यस नगरपालिकाले ३४ लाख आठ हजार छ सय ५० रुपियाँमा १५ मोटरसाइकल खरिद गरेको पाइएको छ ।

त्यस्तै, दुई नगर बसमा ५१ लाख ९० हजार, एउटा ट्याक्टरमा १६ लाख ३८ हजार आठ सय ८४ रुपिायाँ र सक्सनम ट्यांकमा चार लाख ५० हजार रुपियाँ खर्च भएको छ । पूर्वीचौकी गाउँपालिका, शिखर नगरपालिका र दीपायल सिलगढी नगरपालिकाले समान दुई–दुई वटा बस खरिद गरेका छन् । तर, पूर्वीचौकी गाउँपालिकाले दीपायलको भन्दा बसमा २९ लाख ८६ हजार रुपियाँ बढी खर्च गरेको देखिएको छ । दीपायल सिलगढी र शिखर नगरपालिकाले खरिद गरेका बसको मूल्यमा चार लाख ७० हजार रुपियाँ अन्तर देखिन्छ ।

गाडी खरिदको खर्चमा बडीकेदार गाउँपालिकाले पनि डोटीका दुवै नगरपालिकालाई उछिनेको छ । बडीकेदारले विभिन्न गाडी खरिदमा एक करोड ८१ लाख ७९ हजार एक सय रुपियाँ खर्च गरेको छ । एक करोड २० लाख रुपियाँमा एउटा सडक खन्ने एक्साभेटर, ३८ लाख ७० हजार रुपिमा एउटा पिकअप जीप र २३ लाख नौ हजार एक सय रुपियाँमा नौ वटा मोटरसाइकल खरिद गरिएको पाइएको छ ।

सायल गाउँपालिकाले गाडी खरिदमा एक करोड ५६ लाख १६ हजार दुई सय खर्च गरेको पाइएको छ । यस गाउँपालिकाले सात लाख ४६ हजार दुई सयमा तीनवटा मोटरसाइकल खरीद गरेको छ । यस्तै महिन्द्रा बोलेरो जीपमा २३ लाख ८५ हजार र एक्साभेटरमा एक करोड २४ लाख ८५ हजार रुपियाँ खर्च गरेको देखिन्छ ।

केआई सिंह गाउँपालिकाले सबैभन्दा धेरै १७ वटा मोटरसाइकल खरिद गरेको छ । मोटरसाइकल खरिदमा ३२ लाख ६९ हजार एक सय १५ रुपियाँ खर्च भएको छ । यस्तै, मिनि टिपरमा २० लाख १३ हजार दुई सय ७४ रुपियाँ र जेसिबी खरिदमा ४० लाख ९९ हजार नौ सय ९९ गरी जम्मा कुल ९३ लाख ८२ हजार तिन सय ८८ रुपियाँ खर्च भएको देखिन्छ ।

बोगटान गाउँपालिकाले ७६ लाख १३ हजार आठ सय रुपियाँ गाडी खरिदमा खर्च गरेको छ । यस गाउँपालिकाले चार वटा मोटरसाइकल खरिद गरेको छ । मोटरसाइकल खरिदमा नौ लाख ७८ हजार आठ सय रुपियाँमा खर्च भएको छ ।

यस्तै, जेसिबी खरिदमा ४२ लाख ५० हजार र महिन्द्रा बोलेरो जीप खरिदमा २३ लाख ८५ हजार रुपियाँ खर्च भएको देखिन्छ । उता, जोरायल गाउँपालिकाको गाडी खरिदमा अन्य स्थानीय तहभन्दा खर्च कम भएको देखिन्छ । यस गाउँपालिकाले ५८ लाख ३८ हजार नौ सय ९९ रुपियाँ गाडी खरिदमा खर्च गरेको देखिन्छ । जोरायल गाउँपालिकाले दश वटा मोटरसाइकल खरिद गरेको छ जसका लागि २२ लाख आठ हजार नौ सय ९९ रुपियाँ तिरिएको छ ।

यसैगरी, एउटा महिन्द्रा पिकअप जीपमा ३६ लाख ३० हजार रुपियाँ खर्च गरिएको छ । आदर्श गाउँपालिकाले डोटीका स्थानीय तहहरुमध्ये मोटर गाडी खरिदमा सबैभन्दा कम खर्च गरेको छ । उसको खर्च ५७ लाख २२ हजार नौ सय रुपियाँ देखिन्छ । चौध वटा मोटरसाइकल खरिदमा ३३ लाख ३७ हजार नौ सय र एउटा महिन्द्रा बोलेरो जीप खरिदमा २३ लाख ८५ हजार रुपियाँ खर्च देखाइएको छ ।

जिल्लाका नौ स्थानीय तहमा यो डेढ वर्षको अवधिमा ९१ मोटरसाइकल भित्रिएका छन् । सबैभन्दा बढी केआईसिंह गाउँपालिकाले १७ वटा र सबैभन्दा कम सायल गाउँपालिकाले ३ वटा मात्रै मोटरसाइकल किनेका छन् ।

स्थानीय तहले खरिद गरेका दुई पाङ्ग्रे सवारी साधनहरुको मूल्यमा भने एकरुपता छैन । एउटै कम्पनीको एकै मोडल र एकै क्षमताको मोटरसाइकल पनि फरक–फरक दरमा खरिद गरिएको पाइएको छ । नगरपालिका तथा गाउँपालिकामा खरिद भएका यस्ता मोटरसाइकलको दुरुपयोग भइरहेको पाइएको छ ।

स्थानीय तहसँग असंलग्न व्यक्तिहरुले पनि ती मोटरसाइकल चलाउने, एउटै मोटरसाइकलमा एकैपटक तीन जना चढ्न दिने र बिदाको दिन पनि सवारी साधनहरु चलाउने गरेको स्थानीय बासिन्दाको आरोप छ । कतिपय ठाउँमा अनुमति पत्र नभएकाहरुले समेत मोटरसाइकल चलाउने गरेका छन् ।

स्थानीय तहका सवारी साधनहरुको प्रभावकारी अनुगमन नहुँदा जनप्रतिनिधिहरुका आफन्त र कर्मचारीका परिवारजनले विवाह, मेला र भोजभतेरमा समेत सरकारी सवारीसाधन प्रयोग गर्ने गरेको जनगुनासो छ । उता, यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा आवश्यक परेका कारण चाहिएका गाडी मात्रै खरिद गरेको दाबी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement