चितवन उद्योग वाणिज्य संघले क्रिकेट रंगशाला बनाउन एक करोड दिने

Advertisement

चितवन । चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग बाणिज्य संघले एक करोड सहयोग गर्ने घोषणा गरेको छ । संघले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी रंगशालाका लागि एक करोड रुपैयाँ सहयोग गर्ने बताएको हो ।

चितवन महोत्सव २०७५ को आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष सहनलाल प्रधानले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाका लागि संघका तर्फबाट तत्काल ५५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गर्ने बताए ।

बाँकी रकम सहयोग गर्दै जाने अध्यक्ष प्रधानले जानकारी दिए । यसअघि संघले काठमाडौंमा भएको रंगशाला घोषणा कार्यक्रममा २१ लाख सहयोग गर्ने बताएको थियो । त्यही रकमलाई बढाएर १ करोड रुपैयाँ पुर्‍याएको अध्यक्ष प्रधानको भनाइ छ ।

‘हामी एक करोडभन्दा पनि बढी रकम कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहेका छौं’ अध्यक्ष प्रधानले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना भएकोले सबै नेपालीको साथ आवश्यक छ ।’

भरतपुर महानगरपालिका वडा नः १५ मा अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भइरहेको छ ।

यसैबीच, भरतपुर महानगरपालिका बोर्ड सदस्यहरुले एक महिनाको तलब रंगशाला निर्माणका लागि दिने भएका छन् । महानगरपालिकाको बोर्ड बैठकले रंगशाला निर्माणका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो ।

यसैगरी, चितवन जिल्ला भरका सरकारी कार्यालयका कर्मचारीहरुबाट रंगशाला निर्माणका लागि के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जिल्लाका सबै कार्यालय प्रमुखहरुसँग छलफल गरेका छन् ।

उनले जिल्लाका कार्यालय प्रमुखहरुसँगको बैंठकमा रंगशाला निर्माणका लागि सबै कार्यालयका तर्फबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement