करोडौं रुपियाँ नक्कली भारुसहित युनुस अन्सारी फेरि पक्राउ

Advertisement

काठमाडौँ । करोडौँ नक्कली भारतीय रूपियाँसहित युनुस अन्सारी फेरि पक्राउ परेका छन् । यसअघि पनि नक्कली भारु कारोबारमा पक्राउ परेर लामो समय जेलमा बसेका अन्सारी फेरि पक्राउ परेका हुन् ।

पक्राउ पर्ने उनीसहित चार जना रहेका छन् । कतारबाट आउने क्रममा उनीहरुले ठूलो मात्रामा भारतीय रुपियाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । यद्यपि सो रकम पाकिस्तानबाट कतार हुँदै ल्याइएको प्रहरीको भनाई छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार भारतीय नोट सक्कली नभई नक्कली भएको र गन्ने क्रम जारी रहेको छ ।

अन्सारीसहितको टोलीले पाकिस्तान हुँदै चार वटा सुटकेशमा ल्याइएको नक्कली भारतीय बरामदलाई प्रहरी र भन्सार कार्यालयले ठूलो उपलब्धीको रुपमा लिएको छ । दोहाबाट कतार एयरवेजमार्फत सुरक्षित तरिकाले ल्याइएको यति धेरै नक्कली नोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै भित्राउने अन्सारीको योजना देखिन्छ ।

पूर्वमन्त्री सलिममिया अन्सारीका छोरा युनुस आफै भने बाहिरबाट आएका होइनन् । उनी सामान रिसिभ गर्न विमानस्थल पुगेको बेला पक्राउ परेका हुन् । यसअघि ११ माघ ०७० मा प्रहरीले अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो। उनीमाथि भारतीय गुप्तचरहरुबाट हत्या हुने देखिएपछि लामो समयसम्म हिरासतमा राखिएको थियो । यद्यपि हिरासतभित्रै समेत भारतीय एक सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए । उक्त घट्नामा युनुस घाइते मात्रै भएका थिए ।

तत्कालिन नेशनल टेलिभिजनका सञ्चालकसमेत रहेका युनुस जेल परेपछि उनको टेलिभिजन बन्द भएको थियो।

Advertisement

Advertisement

Advertisement