महिला अधिकारलाई स्थापित गर्न उदयपुरमा पहिलोपटक महिला भेला हुने

उदयपुर । संबिधानमा समाबेश भएका महिला अधिकारलाई स्थापित गर्न उदयपुरमा पहिलोपटक महिला भेला हुने भएको छ । जेठ १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने भेलाको उद्घाटन महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले गर्ने कार्यक्रम रहेको छ ।

स्थानीय तहका महिलाहरुको संम्बैधानिक हकअधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक र राजनैतिक अधिकारलाई स्थापित र संस्थागत गर्ने उदश्यले कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईले जानकारी दिईन् ।

कार्यक्रममा सरकारबाट जारी भएका नीति तथा नीति, कार्यक्रम तथा योजनाहरुमा महिलामैत्री योजना तथा रणनीति निर्माण गरी लैगिंक समानता सुनिश्चितताका लागि आधार तयार, महिलाको श्रम, पहिचानको अधिकार, न्याय सम्पादन प्रकृयामा न्यायिक समितिको भुमिका, महिलाका सवाल तथा नेतृत्व स्थापित, लैगिंक समानतामा देखिएका समस्या चुनौतीका बिषयमा छलफल हुने जनाइएको छ ।

जिल्लाका एक सय ५८ जना जनप्रतिनिधि र अन्य अधिकारकर्मी गरी चार सय जनाको सहभागिता रहने संयोजक राईले जानकारी दिईन् । स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गरी गर्न लागिएको कार्यक्रममा सात लाख खर्च गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

स्थानीय तहका महिला वडासदस्यहरुको योजना तर्जुमा, लैगिंकमैत्री वजेट निर्माण, समावेशितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि कार्यक्रमले सहयोग पुर्याउने संयोजक राईले बताईन् । कार्यक्रममा सम्बन्धित क्षेत्रका बिषयविज्ञले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।