काठमाडौं । विस्फोटका लागि काठमाडौं ल्याइँदै गरेको बम नागढुँगामा विस्फोट हुँदा घाइते भएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको आव्हान गरेको अघिल्लो दिन बम भित्राउने क्रममा नागढुँगामा विस्फोट भएको हो ।
आफैंले बोकेर ल्याउँदै गरेको बम पड्केर दुईजना घाइते भएका हुन् । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार उनीहरु मोटरसाइकलमा आउने क्रममा विस्फोट भएको हो । आजै भएका श्रृखलावद्ध विस्फोटमा चार जनाको मृत्यु भएको छ भने आधा दर्जन बढि घाइते भएका छन् ।
त्यसबाहेक ठाउँ ठाउँमा शंकास्पद वस्तुहरु फेला परेका छन् । ललितपुरको जवालाखेल बसपार्कमा विस्फोटका लागि राखिएको प्रेसर कुकर भेटिएको छ । नेपाली सेनाले उक्त बम डिस्पोज गरेको छ । ललितपुरकै ग्वार्कोस्थित गुण सिनेमा हल नजिकै पनि शंकास्पद बस्तु भेटिएको छ।
यसअघि सुकेधारा र घट्टेकुलोमा भएका विस्फोटमा चारजनाको मृत्यु भएको छ । घट्टेकुलोमा एकजनाको र सुकेधारा विस्फोटमा घटनास्थलमै दुई र ओम अस्पतालमा उपचारका क्रममा एकजनाको गरी चार जनाको मृत्यु भएको हो ।
सुकेधारा विस्फोटका पाँच घाइतेको अहिले ओम अस्पतालमा उपचार भइरहेको छ।