काङ्ग्रेस भन्छ– लामो हिंसाबाट बल्ल शान्तिको सास फेरेका जनतालाई फेरि अशान्ति नदेउ

bishwo-prakash-sharma

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले काठमाडौँका विभिन्न स्थानमा भएको बम विस्फोट र त्यहाँबाट भएको मानव जीवनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त आजका उपलब्धिको रक्षा र विकासमा सबै थरी शक्ति ऐक्यबद्ध ढङ्गले अघि बढ्नुपर्ने बेला यस्ता घटनाले आम जनतालाई त्रसित बनाएको बताए ।

उनले भनेका छन्, “बम विस्फोटमा परेर जीवन गुमाउनेहरू विद्रोही पक्षका हुन् या विपक्षका तर अमूल्य जीवन गुमेको छ र शान्ति स्थापनापछिको नेपाली समाजलाई हार्दिक ढङ्गले अघि लिएर जाने आम नेपालीको चाहनालाई मर्माहत बनाएको छ ।”

काङ्ग्रेसले लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमहरूबाट अन्तत कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराएको छ । हिंसाको राजनीति परित्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई काङ्ग्रेसले आग्रहसमेत गरेको छ ।

काङ्ग्रेसले घटनामा जीवन गुमाएका सबैको आत्माको चिरशान्ति कामना गर्दै सबै घाइतेहरूको सम्पूर्ण उपचार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।