पुतली बगैँचामा तीन बर्षभित्रै संसद भवन, सात अर्ब लगानी गरिने

Parliament-Building-nepal

काठमाडौं । आगामी तीन वर्षभित्र संघीय संसद्को आफ्नै भवन निर्माण हुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा सात अर्ब रुपैयाँ लगानीमा भवन बनाउन लागिएको हो । चालू आर्थिक वर्षदेखि नै निर्माण सुरु गरी आर्थिक वर्ष ०७८।७९ मा सम्पन्न गरिने भवन निर्माण विकास तथा भवन निर्माण विभागको योजना छ ।

सरकारले चालू आवको नीति तथा कार्यक्रममा संघीय संसद् भवन निर्माण गर्ने व्यवस्था गरेको थियो । जसअनुसार गत कात्तिकदेखि सुरु गरिएको डिजाइनको काम सम्पन्न भएको विभागका महानिर्देशक मणिराम गेलालले बताए । भवनको आर्किटेक्चर डिजाइन इन्गर कन्सल्टेन्सीले र स्ट्रक्चरल डिजाइन डिजिकम इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो । विभागले भवन निर्माणका लागि आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । हाल नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर संघीय संसद् सञ्चालन भइरहेको छ ।

यस्तो हुनेछ संसद् भवन
संघीय संसद् भवनमा तीनवटा प्रवेशद्वार हुनेछन् । गुरुयोजनाअनुसार मूलढोका दक्षिणतर्फ रहनेछ भने उत्तरतर्फको ढोकाबाट सांसद आवतजावत गर्नेछन् । दक्षिण–पूर्वको ढोकाबाट कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्नेछन् । अत्याधुनिक सुरक्षा जाँच पार परेर मात्र प्रवेशको व्यवस्था गरिनेछ । दक्षिणतर्फको मूलढोकाबाट बायाँतर्फ प्रतिनिधिसभा हल हुनेछ भने दायाँतर्फ राष्ट्रिय सभा हल हुनेछ ।

सबै भवनमा काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी डिजाइन गरिएको छ । अधिकांश भवन बढीमा तीन तलाको हुनेछ । संसदीय दलको समिति भवन र कार्यालय भवन पाँच तलाको हुनेछ । आवश्यकताअनुसार भवनहरूको प्रयोजनलाई ध्यानमा राखी बेसमेन्ट र सेमिबेसमेन्ट राखिएको छ । परिसरभित्र बन्ने प्रत्येक संरचनालाई भूकम्प, आगलागीजस्ता आपत्कालीन अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको छ ।

प्रतिनिधिसभा हल चार सयजना अट्ने बनाइनेछ भने विभिन्न प्राविधिक कक्ष पनि हुनेछन् । सभामुख कार्यकक्ष, पत्रकार भेटघाट कक्ष, विशिष्ट व्यक्तिसँगको भेटघाट कक्ष, शौचालयलगायत हुनेछन् । साथै तीन सयजना अट्ने बाल्कोनी हल हुनेछ भने दुई सयजना अट्ने सुरक्षा कक्ष बन्नेछ । राष्ट्रिय सभा भवनमा करिब सयजना अटाउँछन् । यहाँ यसबाहेक स्टुडियो रुम, कन्ट्रोल रुम, भिडियो रुम, रेकर्ड रुम पनि निर्माण गरिनेछ । सभाध्यक्ष कक्ष, विशिष्ट कक्ष, कमिटी हल पनि बनाइनेछ । दुई सयजना अट्ने बाल्कोनी हल पनि निर्माण गरिनेछ । त्यस्तै, मर्मत कक्ष, मार्सल रुम र शौचालय हुनेछ ।

संसद् भवनको दायाँतिर तीन तलाको संसदीय सचिवलाय भवन रहनेछ । यस भवनमा संसदीय सचिवालयका विभिन्न कार्यकक्ष हुनेछन् । राष्ट्रिय सभा भवनको उत्तरतिर अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन राखिएको छ । यो चार तलाको भवन हुनेछ । यस भवनमा प्रधानमन्त्रीको कार्यलय, सभामुख, उपसभामुख कार्यालय, बैठक कक्ष, प्रधानमन्त्रीको कार्यालय बनाइनेछ । दायाँतिर उत्तर–पूर्वमा संसदीय समितिको कार्यालय हुनेछ । यो भवन पाँच तलाको हुनेछ । यस भवनमा बैठक कक्ष, कन्ट्रोल रुम, कर्मचारी, सचिव, उपसचिवको कार्यकक्ष हुनेछन् ।

पुस्तकालय, पार्किङ र चमेनागृह पनि
प्रतिनिधिसभा भवनको उत्तरतिर चार तलाको पुस्तकालय र दुई तलाको चमेनागृह बनाइनेछ । पुस्तकालय भवनमा पुस्तक अध्ययन कक्ष, इ–लाइब्रेरी, संग्रहालय, प्रशासनिक कक्षलगायत हुनेछन् । चमेनागृहको भुइँतला सर्वसाधारण र माथिल्लो तला सांसदहरूका लागि छुट्याइएको छ । संसदीय समिति भवनसँगै दायाँतर्फ सानो छापाखाना भवन हुनेछ । बायाँतर्फ उत्तरकुनामा पार्टी कार्यालय भवन राखिएको छ । यो भवन पाँच तलाको हुनेछ । यस भवनमा पार्टी कार्यालयलाई चाहिने विभिन्न कार्यकक्ष, बैठक हल र बालस्याहार कक्ष हुनेछन् । यसवरिपरि करिब तीन सय ५० गाडीका लागि पार्किङ बनाइनेछ । झन्डै तीन सय गाडी पार्क गर्न मिल्ने गरी डबल बेसमेन्टसहितको छुट्टै पार्किङ भवन पनि बनाइनेछ ।

सिंहदरबारभित्र १७३ रोपनी जग्गामा ११ भवन
संघीय संसद् भवनपरिसरमा ११ वटा भवन निर्माण गरिने विशेष भवन निर्माण संयोजक प्रक्रिण तुलाधरले बताए । उनका अनुसार परिसरभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका एक–एक भवन निर्माण गरिनेछन् । दुवै भवनको साझा लबी, अति विशिष्ट व्यक्तिको कार्यालय, पुस्तकालय÷संग्रहालय, संसदीय दलको कार्यालय, संसदीय सचिवालयको भवन, चमेनागृह, प्रेसरछपाइ भवन, सात सयवटा सवारीसाधनका लागि पार्किङ र सुरक्षाकर्मीको भवन पनि हुनेछन् । संघीय संसद् भवनपरिसर निर्माण आयोजनालाई चार क्षेत्रमा विभाजन गरिएको छ–भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र । जसमध्ये भवन क्षेत्रले करिब २७ प्रतिशत स्थान र खुला हरियाली क्षेत्रले ४५ प्रतिशत क्षेत्र ओगटेको छ । त्यस्तै, बाँकी क्षेत्रफल सडक पूर्वाधार, पार्किङ तथा जलक्षेत्रले ओगट्नेछ ।

नयाँपत्रिका दैनिकबाट ।