गृहमन्त्रीले संसदमा भने– यो सरकारले शान्ति सुरक्षामा सुधार ल्याएको छ

Advertisement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आइतबार श्रृखलावद्ध विस्फोटमा मृत्यु हुनेहरु आम नागरिक नभएको बताएका छन् । प्रतिनिधिसको सोमबारको बैठकमा उनले घुमाउरो भाषामा उनीहरु आतंककारी भएको बताए ।

साँसदहरुको प्रश्नको जवाफ दिने क्रममा उनले विस्फोटमा मृत्यु हुने र घाइते हुनेहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका कार्यकर्ता भएको बताउँदै गैरकानुनी कार्यमा संलग्न भएकाले उनीहरु सर्वसाधारण नागरिक हुन नसक्ने तर्क गरे । थापाले भने, ‘उनीहरु सामान्य जनता होइनन्। हिजो घटना घटाउने कै ज्यान गएको छ, उनीहरु गैरकानुनी काममा संलग्न थिए, गैरकानुनी काम गर्ने सर्वसाधारण हुन सक्दैन’।

विप्लवले जनसरकारकारुपमा जनपरिषद् र जनसेनाकारुपमा चार कम्पनी गठन गरेको बताउँदै मन्त्री थापाले उनीहरूको मुख्य निशाना काठमाडौं उपत्यका रहेको पनि बताए । विप्लव समूहसँग सरकारको साँटगाँट नरहेको पनि उनले प्रष्ट पारे । सरकार र विप्लव माओवादीको साँटगाँट छ कि ? भनेर गरिएको प्रश्न नै नाजायज भएको बताउँदै उनले अहिलेको सरकारले शान्तिसुरक्षामा सुधार ल्याएको दावी गरे ।

मन्त्री थापाले भने, ‘यस सरकारको पालामा शान्ति सुरक्षामा सुधार आएको छ, सम्पूर्णरुपमा शान्ति सुरक्षा कायम गर्न नसकिएको भए पनि आफू सरकारमा आएका बेला र अहिलेको अवस्थालाई तुलना गर्दा शान्ति सुरक्षाको मामलामा सरकार सफल भएको छ ।’

शान्ति सुरक्षा दिने कुरामा सरकार असफल भएको भनी प्रमुख प्रतिपक्षी दलले गरेको आलोचनाको प्रतिवाद गर्दै उनले विप्लव समूहसँग वार्ताको पहल पनि भइरहेको बताए । विप्लव समूहले शान्ति र स्थायीत्वकाविरुद्ध संविधान विरोधी गतिविधि गरेकाले त्यसलाई नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने थापाले बताए ।

Advertisement

Advertisement

Advertisement