कामको प्रगति सन्तोषजक नभएपछि हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग ठेक्का केही दिनअघि तोडेको हो ।

कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ ।

प्राधिकरणले यस अघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड  (सिसिपिजी) सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।

ठेक्का तोडेपछि कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैकका नेपाल कार्यालयका देशीय प्रवन्धक फारिस हढाढ जर्भोस सहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए ।

‘साइटमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक पटक निर्देशन दियौ, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने,हामीले गरेको पत्रचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लघंन गर्यो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, त्यसैले ठेक्का तोडिएको हो’, घिसिङले भने । ‘नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा छ, छिट्टै टेण्डर आह्वान गछौं ।’

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डमा पर्ने दुई सय २६ टावरमध्ये एक सय ६८ को जग हालिएको छ भने एक सय १९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ ।

आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । यो खण्डमा पर्ने दुई सय ४६ टारमध्ये एक सय ३७ को जग हालिएको, एक सय एक खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका आयोजना प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए । प्राधिकरणकातर्फबाट गर्नु पर्ने रुख कटान तथा निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले महत्वपूर्ण यस आयोजनाको कामलाई तिब्रता दिन श्रमिकको संख्या थप्न निर्देशन दिए ।

नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।

सबस्टेसनको निरीक्षण
कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैकको टोलीले हेटौडामा निर्माणाधीन सबस्टेसनको निर्माण प्रगतिको निरीक्षण गरेको थियो । हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना अन्तर्गत हेटौडा, भरतपुर र बर्दघाटमा एक सय ३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ ।

चिनियाँ ठेकेदार कम्पनी जोन्डिङ इन्टरनेशनलको लापरबाही र कमजोर कार्यसम्पादनका कारण आयोजना रुग्ण बनेको छ । कुलेखानी तेस्रोमाजस्तै चिनियाँ कम्पनीको नेपाली साझेदार हुलास इन्जिनियरिङका कारण सबस्टेसन निर्माण रुग्ण बनेको हो । तीन वटै सबस्टेसन निर्माणको समग्र प्रगति ९३ प्रतिशत छ ।

हेटौडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौडामा दुई सय २० र चार सय केभी सबस्टेसनको पनि निर्माण भइरहेको छ । प्राधिकरणले हैटौडा, ढल्केबर र इनरुवामा दुई सय २० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको सिसिपिजीसँगको ठेक्का तोडी नयाँ ठेकेदार नियुक्त गरेको छ ।

ढल्केबरमा दुई सय २० केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको । हेटौडा र इनरुवामा सबस्टेसन निर्र्माणका जिम्मा भारतीय कम्पनीसँग ठेक्का सम्झौता भएको छ । कम्पनीले काम सुरु गरिसकेको छ । हेटौडा, ढल्केबर र इनरुवमा चार सय केभी सबस्टेसन पनि निर्माणाधीन छ ।

प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न भएपछि पूर्व पश्चिमको विद्युत् प्रवाह सहज बनाउने छ ।

Advertisement

Advertisement

Advertisement