विप्लव समूहको बन्दले उपत्यकामा आंशिक असर, बाहिरको जनजीवन प्रभावित

Advertisement

काठमाडौं । नेत्रवित्रम चन्द ‘विप्लव’ समूहको बन्दका कारण आज उपत्यकामा आंशिक असर पारेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार काठमाडौँमा भएको बम विष्फोटनले उत्पन्न त्रासका कारण आज उपत्यकामा साविक झै सार्वजनिक गाडी नचलेका हुन् । निजी गाडी भने सञ्चालनमा छ ।

उपत्यका बाहिर भने केही बढी असर परेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा बसमा आगजनी गराइएको पाइएको र यस क्रममा विभिन्न क्षेत्रबाट पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । यसअघि आइतबार साँझ प्रहरीले उपत्यकामा सात जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रवक्ता पोखरेलले विभिन्न जिल्लामा नक्कली बम राखेर त्रास फैलाउने काम भएको बताए । रामेछाप, हेटौँडा, सुर्खेत, नवलपुरलगायत क्षेत्रमा केही गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । बन्दमा उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्गमा सवारी साधनलाई ‘स्कटिङ’को व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

बन्दका कारण उपत्यका भित्रिने र बाहिरिने गाडीसमेत सञ्चालन नभएको काठमाडौँस्थित महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उपत्यकाका तीनै जिल्लामा बन्दको आंशिक असर परेको उनको भनाइ थियो ।

आइतबार विप्लव समूहका सदस्यले बम बनाउने क्रममा काठमाडौँको घट्टेकुलो, सुकेधारा र थानकोटमा विष्फोट हुँदा सो समूहका चार जनाको मृत्यु भएको थियो । घटनामा सात घाइते भएका थिए । घाइतेको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेकामध्ये अधिकांश विप्लव समूहका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement