५५ करोडको खानेपानी आयोजना उद्घाटन, स्थानीयवासीमा खुशीयाली छायो

Advertisement

टीकापुर (कैलाली) । खानेपानी मन्त्री बिना मगरले कैलाली जिल्ला स्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उद्घाटन गरेकी छिन् । एसियाली विकास बैंकको ऋण सहयोगमा संचालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उद्घाटन गरेकी हुन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसंख्या लाभान्वित हुनेछन् भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् । उक्त आयोजनाको काम निर्धारित समय २ वर्ष भित्रै सम्पन्न भएको हो ।

आयोजनाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देश भरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको बताइन् । उनले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार गम्भीर रहेकोे स्पष्ट पारिन् ।

जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुर्याउने र ढल व्यवस्थापन गर्ने योजनामा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनाई छ । विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पुर्याउने कार्यमा उपभोक्ता समितिहरुसंग सधैं सहकार्य गर्न विभाग तयार रहेको बताइन् ।

Advertisement

Advertisement

Advertisement