चन्दा चौधरीको प्रश्न– खचै गर्न नसक्ने भए किन ठूलो आकारको बजेट ल्याउनुपर्यो ?

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टीकी महामन्त्री एवं सांसद चन्दा चौधरीले आफूहरुले १० करोड पैसा नमागेको स्पष्ट पारेकी छन् । रिपोर्टर्स क्लवमा सोमबार उनले भनिन्, ‘पैसाको साटो सांसदहरुलाई योजना दिनुपर्छ । हामीले योजना पाउनुपर्छ । हामी सांसदलाई १० करोड पैसा दिनुपर्छ भन्ने पक्षमा छैनौं ।’

निर्वाचित र समानुपातिक सांसद दुवैलाई हरेक क्षेत्रमा बराबर योजना दिनुपर्ने चौधरीको माग छ । उनले नेपालमा बजेट हरेक वर्ष फ्रिज हुने गरेको भन्दै त्यसतर्फ पनि सोच्नुपर्ने सुझाईन् । चौधरीले प्रश्न गरिन्, ‘नेपालमा सधैं किन बजेट फ्रिज हुन्छ ? जति काम गर्ने हो त्यति मात्रै बजेट ल्याउनुपर्छ । बजेट बनाउँदा प्राथमिकता तोक्नुपर्छ ।’

उनले बजेट ल्याउँदा प्रसाद जस्तो छर्ने काम गर्न नहुने पनि बताईन् । चौधरीले भनिन्, ‘हामीले खुद्रा कामभन्दा पनि होलसेलमा ठूलो योजनाहरुको काम गर्नुपर्छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्छ । जस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा छ, यसमा विशेष ध्यान दिनुपर्छ । अहिले एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुँदा यात्रुहरुलाई ठूलो मार परेको छ ।’

चौधरीले युवा तथा महिलाहरुलाई रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिनुपर्ने सुझाव सरकारलाई दिईन् । उनले भनिन्, ‘भत्ता दिएर समस्याको समाधान हुँदैन् । विदेशिएका युवाहरुलाई रोक्नुपर्छ । उनीहरुलाई स्वदेशमै कसरी राख्न सकिन्छ ? भनेर सोच्नुपर्छ । र, त्यहीअनुसारको बजेट ल्याउनुपर्छ ।’

चौधरीले प्रत्यक्ष निर्वाचित र समानुपातिक दुवै सांसद बराबर भएकोले भेदभाव गर्न नहुने धारणा राखिन् । विकास हुन नसकेको क्षेत्रलाई सरकारले बजेटमा विशेष महत्व दिनुपर्ने पनि उनको भनाई छ । चौधरीले कृषि औजार उद्योग, चिनी मिल र चुरोट कारखानाजस्ता कुरामा सरकारले ध्यान दिनुपर्ने पनि बताईन् ।

Advertisement

Advertisement

Advertisement