सरकारी तथ्यांकले भन्छ– जनसंख्याभन्दा धेरै चार करोड चार लाख टेलिफोन प्रयोगकर्ता पुग्यो

Advertisement

काठमाडौं । टेलिफोन प्रयोगकर्ताको सङ्ख्या चार करोड चार लाख ५७ हजार ४३१ पुगेको छ । सरकारले चालू आवको आठ महीनाको आर्थिक सर्वेक्षण सोमबार सार्वजनिक गर्दै आव २०७५/७६ को माघसम्म टेलिफोन घनत्व १३७.१७ र इन्टरनेट ग्राहक घनत्व ५८.५९ प्रतिशत पुगेको जनाएको हो ।

अर्थमन्त्री युवराज खतिवडाद्धारा प्रतिनिधिभामा सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५÷७६ को माघ महीनासम्म मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या तीन करोड ७५ लाख ५७ हजार २८२ रहेको छ । देशका ७७ जिल्लामा मोबाइल सुविधा पुगेको र करीब ९० प्रतिशत भू–भागमा मोबाइल सेवाको पहँुच पुगेको जनाइएको छ ।

त्यसैगरी टेलिकमले उच्च प्रविधिको मोबाइल फोरजी/एलटिई (लङ ट्रम इभोलुसन) सेवा काठमाडौँ उपत्यका र पोखरामा शुरु गरेको छ । दूरसञ्चार सेवा प्रदायका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, एनसेल प्रालि, युनाइटेड टेलिकम लिमिटेड, स्र्माट टेलिकम प्रालि र इन्टरनेट सेवा प्रदायकहरू रहेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार सेवाको नियामक निकायका रूपमा रहेको छ । नेपाल टेलिभिजनले स्याटेलाइटमार्फत चार च्यानलबाट प्रसारण गरेको छ । २०७५ माघदेखि नेपाल टेलिभिजनको कार्यक्रम उत्पादन तथा प्रसारणलाई एचडी फरम्याटमा रुपान्तरण गरिएको छ ।

रेडियो नेपालको प्रसारण पहुँच ८३ प्रतिशत जनसङ्ख्यामा पुगेको छ । अनलाइनमार्फत संसारभर २४सै घण्टा प्रसारण भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ देखि काठमाडौँमा चलचित्र व्यवसायमा ई–टिकेटिङ व्यवस्थासहित चलत्रिच वितरण र प्रदर्शनमा बक्स अफिस प्रणाली लागू भएको छ । अहिलेसम्म ९११ वटा एफएम रेडियोले इजाजत लिएका छन् भने ६५८ वटा नियमति सञ्चालनमा छन ।

त्यसैगरी १३६ टेलिभिजनले इजाजत प्राप्त गरेका छन भने ४७ टेलिभिजन नियमित सञ्चालनमा रहेका छन् । त्यस्तै दैनिक, मासिक, पाक्षिक, त्रैमासिक, चौमासिक र अन्य गरी सात हजार ७२९ वटा पत्रपत्रिका दर्ता भएका छन् ।

पत्रपत्रिकाको भाषागत रूपमा हेर्दा नेपाली, अङ्ग्रेजी, नेपाली÷अङ्ग्रेजी नेवारी, संस्कृत, हिन्दी, मैथिली, भोजपुरी, उर्दू, लिम्बू, तिब्बती, थारू, डोटेली, तामाङ, राई र अन्य गरी कूल २५ भाषामा दर्ता भएका छन् । दर्ता भएका पत्रपत्रिकामध्ये भाषागत रूपमा सबैभन्दा बढी नेपाली भाषामा पाँच हजार १४० दर्ता भएका छन् भने सबैभन्दा कम राई भाषामा दुई, लिम्बूमा तीन, तिब्बतीमा तीन र संस्कृतिमा पाँच पत्रपत्रिका दर्ता भएका छन् । गोरखापत्रले विभिन्न ३८ भाषामा सामग्री प्रकाशन गर्दै आइरहेको छ ।

त्यसैगरी हुलाक सेवा विभागअन्तर्गत चार केन्द्रीय कार्यालय, चार क्षेत्रीय कार्यालय, ८० जिल्ला हुलाक कार्यालय, ८४२ इलाका हुलाक कार्यालय र तीन हजार ७४ अतिरिक्त हुलाक रहेका छन् । सबै हुलाक वस्तुको ट्र्याकिङ गर्ने व्यवस्थाका लागि ७२ जिल्लामा पोस्टर इन्टरनल ट्र्याकिङ सिस्टम (पिआइटिसी) अनलाइन ट्र्याकिङ प्रणाली शुरुआत गरिएको छ ।

सरकारले छापा तथा विद्युतीय सञ्चार माध्यमको विकास, विस्तार र सुदृढीकरण गर्ने कार्यअनुरुप अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार अनलाइन सञ्चारमाध्यमहरू दर्ता कार्य शुरु गरेको छ । सरकारी निकायबाट प्रकाशित सामग्री, सूचना तथा निर्णयहरू एकीकृत रूपमा विद्युतीय माध्यमबाट समेत उपलब्ध गराउने गरी सूचना विभागमा सूचना बैंकको स्थापना गर्ने कार्य अगाडि बढेको छ ।

सरकारी एकीकृत डाटा केन्द्रबाट प्रदान गरिएका सेवालाई भरपर्दो र सर्वसुलभ पारिएको छ । राष्ट्रिय विद्युतीय भुक्तानी प्रणालीका लागि सूचना प्रविधि पूर्वाधार तयार भएको छ । नेपाल सरकारको केन्द्रीय इमेल प्रणाली सञ्चालनार्थ सूचना प्रविधिको पूर्वाधार उडान गरी सञ्चालनमा आएको छ ।

यो अवधिमा दैवीप्रकोप तथा अन्य आपत्कालीन अवस्थामा क्षति हुनसक्ने सूचनाको सुरक्षार्थ मकवानपुरको हेटौँडामा ‘डेटा रिकभरी सेन्टर’को निर्माण कार्य सम्पन्न भएको, नेपाल राजपत्रलाई सरल सुलभ एवं सबैको पहुँचयोग्य बनाउन नेपाल गजेट नामक मोबाइल एप प्रयोगमा ल्याइएको छ । रासस

Advertisement

Advertisement

Advertisement