नक्कली लालपुर्जा बनाएर ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीलाई बिक्री

Advertisement

काठमाडौं । नक्कली लालपुर्जाका आधारमा मालपोत कर्मचारीले चन्द्रागिरी नगरपालिकास्थित ९२ रोपनी सरकारी जग्गा हाउजिङ कम्पनीको नाममा पास गरिदिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी त्यसमा संलग्न मालपोत कर्मचारीसहित सातजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय कलंकीका तत्कालीन मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङ कम्पनीका सञ्चालक रामकुमार सुयल थापाविरुद्ध मुद्दा दायर भएको हो । नक्कली जग्गाधनी मीनाकुमारीको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम शर्मा रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

तत्कालीन बाडभन्ज्याङ गाविस–३ स्थित पाताल तथा ठोट्नेखोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा सुयल हाउजिङ कम्पनीका नाममा पास गरिएको हो । सरकारी मूल्यांकनअनुसार सो जग्गाको मूल्य दुई करोड २१ लाख १० हजार रुपैयाँ रहेको आयोगले जनाएको छ ।

नक्कली जग्गाधनी खडा गरी नक्कली लालपुर्जा बनाएर सरकारी जग्गा निजी कम्पनीका नाममा मालपोत कर्मचारीले जग्गाधनी दर्ता स्रेस्ता खडा गरिदिएका थिए । सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापासमेतले परिपञ्च मिलाई आफ्नै दिदी मीनाकुमारीको नाममा नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाएका थिए ।

Advertisement

Advertisement

Advertisement