बेथनाचोकका आगलागीपीडितलाई आर्थिक सहयोग

Advertisement

बेथानचोक । बेथनाचोक गाउँपालिका–५ च्यासिङखर्कस्थित च्याल्टीका आगलागीपीडित शिव दाहालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी बनेपा शाखा काभ्रेपलाञ्चोकले राहत वितरण गरेको छ ।

आगलागीपीडित दाहाल परिवारलाई रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाका सभापति रघुवर चौप्रधान नेतृत्वको टोलीले उनलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । सभापति चौप्रधानले पीडितलाई तत्कालका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा वितरण गरेको बताए ।

स्थानीयबासिन्दा दाहालको घरमा हिजो विद्युत्चुहिएर आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै नगद रु दुई लाख पचास हजार, साँढे दुई तोला सुन, १० मुरी मकै, छ मुरी तोरी, चार मुरी गहँु, चार मुरी जौँलगायत जिन्सी सामान र लत्ताकपडा जलेर नष्ट भएको वडा नं ५ का वडाध्यक्ष खजेन्ची लामाले बताए । “जिउमा लगाउने लुगाबाहेक अरु केही नभएपछि उनका परिवारलाई गाउँपालिका र वडा कार्यालयको सहयोगमा तत्कालका लागि ओढ्ने ओछ्याउनेको व्यवस्था गर्नुका साथै खाना पकाउन भाँडाकुँडा र खाद्यान्न सामग्री उपलब्ध गराएका छौँ”, वडाध्यक्ष लामाले भने, “छ जनाको परिवार रहेको उनी अहिले नजिकैको गोठमा बस्दै आएका छन् ।” भएको नगद, जिन्सी र अन्नपात जलेर नष्ट भएपछि पीडित दाहाल परिवार निकै समस्यामा परेका छन् ।

Advertisement

Advertisement

Advertisement