विश्वकप क्रिकेट प्रतियोगिता आजबाट, ४६ दिनसम्म चल्ने

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा १२औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ । ४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन् । यी दुवै टिमले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन् ।

आयोजक इंग्ल्यान्डसँगै यसपटक उपाधि दाबेदार टिमका रूपमा अस्ट्रेलियालाई समेत हेरिएको छ । अस्ट्रेलिया स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले उत्साही छ । पाँचपटकको च्याम्पियन अस्ट्रेलिया आफ्नो विश्वकपको सानदार छविलाई कायम राख्ने ध्याउन्नमा छ ।

२७ वर्षपछि राउन्डरोबिन फर्म्याट
आइसिसीले २७ वर्षपछि राउन्डरोबिन फर्म्याटमा एकदिवसीय विश्वकप आयोजना गर्न लागेको हो । प्रतियोगिताको ४४ वर्षे इतिहासमा दोस्रोपटक राउन्डरोबिन लिगका आधारमा अन्तिम चारको तय हुन लागेको हो । यसअघि १९९२ मा भएको विश्वकप क्रिकेटमा राउन्डरोबिन लिगका आधारमा प्रतियोगिता भएको थियो । फर्म्याटमा भएको परिवर्तनले यसपटक बलिया मानिएका राष्ट्रहरूमाथि स्वाभाविक चुनौती हुनेछ । यसअघि समूहचरण र नकआउटका आधारमा अधिकांश विश्वकप क्रिकेटका प्रतियोगिता भएका थिए । अब एक टिमले सेमिफाइनल प्रवेशका लागि ९ खेल खेल्नुपर्नेछ । लिगको अन्तसम्म अंक तालिकामा शीर्ष ४ मा रहने टिम सेमिफाइनलका लागि योग्य हुनेछन् ।

१० टिमले ११ मैदानमा प्रतिस्पर्धा गर्ने
प्रतियोगितामा उपाधिका लागि १० टिम (इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, अफगानिस्तान, बंगलादेश, न्युजिल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र पाकिस्तान) प्रतिस्पर्धामा रहनेछन् । प्रतियोगिता इंग्ल्यान्ड र वेल्सका ११ मैदानमा हुनेछन् । प्रतियोगिताको फाइनल लड्र्स मैदानमा १४ जुलाईमा हुनेछ । प्रतियोगिताको लिगचरण ६ जुलाईमा सम्पन्न हुनेछ भने सेमिफाइनलका खेल ९ जुलाईबाट हुनेछन् । पहिलो सेमिफाइनल म्यानचेस्टरमा र दोस्रो बर्मिङघम मैदानमा हुनेछ ।

आजको नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement