सुर्तिजन्य पदार्थमा लगाईएको कर अपुग भएको भन्दै अझै बढाउनुपर्ने माग

Advertisement

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले सुर्तिजन्य पदार्थमा लगाईएको कर अपुग भएको भन्दै अझै बढाउनुपर्ने माग गरेका छन् । विश्व सुर्तिजन्य पदार्थ रहित दिवस, ३१ मे २०१९ को पूर्व सन्ध्यामा बिहीबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले बुधवार पेश परेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा सुर्तिजन्य पदार्थ (चुरोट, बिडी र सिगार) को प्रत्येक खिल्लीमा लगाएको २५ पैसा स्वास्थ्य कर स्वागतयोग्य भएपनि अझै बढाउनुपर्ने माग गरका हुन् ।

लोहनीले सुर्तिजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । त्यस्तै, उनले गर्भवती र १८ वर्ष नपुगेका व्यक्तिहरुले/लाई सुर्तिजन्य पदार्थ खरिद तथा विक्रि गर्न नपाउने कानूनी प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने पनि धारणा राखे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार पनि यो कर कम भयो, प्रत्येक खिल्लीमा कम्तिमा एक रुपैयाँ कर लगाउनुपर्छ, प्रत्येक सुर्ति खैनीको बट्टामा पनि एक रुपैयाँ स्वास्थ्य कर लगाउनुपर्छ ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले नेपालमा करिब ९० लाख (३०.८) प्रतिशत नेपालीहरुले धुम्रपान र सुतिजन्य पदार्थको सेवनको तथ्यांक सुनाए ।

उनकाअनुसार धुवाँको रुपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, उनले १३ देखि १५ वर्षका युवाले २० दशमलव चार प्रतिशत सेवन गर्ने गरेको पनि सुनाए । डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी एक दशमलव दुई प्रतिशत रहेको पनि खड्काले तथ्यांक सुनाए । त्यस्तै, शिक्षक तथा विद्यालयका २१ दशमलव पाँच प्रतिशत कर्मचारीहरुले पनि सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक खड्काले पेश गरे ।

त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्नेको वरिपरि बसी धुँवा ग्रहण (सेकेण्ड ह्याण्ड स्मोकर) गर्नेलाई असर पर्ने गरेको पनि उनले सुनाए । उनले भने,‘सुर्ती सेवन गर्नेजतिनै सेवन गर्ने मान्छेसँग बस्नेलाईपनि उतिकै असर गर्छ ।’ त्यस्तै, उनले ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा नेपालमा थुप्रिएको पनि तथ्यांक सुनाए ।

उनकाअनुसार सुर्तिजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरु क्यान्सर, मुटु रोग, मधुमेह, दिर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्व ३० करोड खर्च भैरहेको छ । उनले भने,‘त्यसमध्ये चार अर्व ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनता आफ्नो गोजीबाट खर्च गर्छन् ।’ तर, सरकारलाई सुर्तिजन्य पदार्थको राजश्व वार्षिक रुपमा १७ अर्ब रुपैयाँमात्रै बुझाउने गरिएको तथ्यांक खड्काले पेश गरे ।

उनले सुर्तिजन्य पदार्थमा कर बढाउने, सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन निषेध गर्ने, सुर्तिजन्य पदार्थको विज्ञापन बन्द गर्ने, धुम्रपान गर्नेहरुलाई त्याग गराउन लगाउने र सुर्तिजन्य पदार्थको सेवनको असरबारे जनचेतना जगाउने काम गरिए सुर्तिजन्य पदार्थ सेवनमा नियन्त्रण हुने विश्वास दिलाए ।

खड्काले कुल क्यान्सर रोगका कारण विरामी हुने नेपालीहरुको संख्या तीन दशमलव पाँच प्रतिशत रहेकोमा त्यही तथ्यांकलाई कुल मान्दा त्यसमध्ये सुर्तिजन्य पदार्थको सेवनका कारणले हुने क्यान्सरको २९ प्रतिशत रहेको जनाए । त्यस्तै, मुटु रोग १२ दशमलव चार प्रतिशत विरामी हुनेमा सुर्तिजन्य पदार्थको सेवनका कारणले विरामी हुने २१ प्रतिशत रहेको जनाए ।

खड्काले विश्वमा प्रत्येक चार सेकेण्डमा एक जना र वार्षिक ८० लाख मानिसको सुर्तिजन्य सेवनका कारण लाग्ने रोगका कारण निधन हुने गरेको र नेपालमा प्रत्येक घण्टा चार जनाको निधन हुने गरेको बताए ।

आयोजकले शुक्रवार विश्वभरि मनाईने सुर्तिजन्य पदार्थ रहित दिवसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । यसै सिलसिलामा नेपाल जनस्वास्थ्य संघ, केन्द्रिय कार्यसमितिले उपत्यकाभित्रका १५ वटा जनस्वास्थ्य अध्यापन गराउने कलेजमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई अभिमुखीकरण गरि तिनीहरुमार्फत उपत्यकाका ३० वटा सामूदायिक विद्यालयमा सुर्तिजन्य पदार्थको सेवन र यसका कानुनी प्रावधानबारे प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा प्रत्येक विद्यालयमा पोष्टर, पाम्प्लेट, लिफलेट र साईनेजहरुसमेत टाँस गरिने कार्यक्रम रहेको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement