सुर्तीजन्य पदार्थ जनचेतनाले नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

Advertisement

काठमाडौँ। पछिल्लो समय नेपालमा १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी सुर्तीजन्य पदार्थ विशेषगरी धूम्रपानको बढी सेवनकर्ता रहेको देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन्। यसको ५० प्रतिशत त पुरुष रहेका छन् । तीमध्ये १५ देखि १९ वर्ष समूहका किशोरकिशोरी धूमपान गर्दछन्।

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ। यो सङ्ख्या बर्सेनि वृद्धि भइराखेको मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो।

चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थ ९चुरोट, पान, गुट्खा, बिँडी, हुक्का० सेवनले फोक्सोमा धेरै समस्या निम्त्याउँछ। यसले क्रोनिक अब्सक्टिभ पल्मनरी डिजिज, आज्मा, क्यान्सर तथा क्षयरोगको जोखिम गराउँछ। धूमपानका सात प्रकारका हानिकारक रसायन हुने र तीमध्ये ६९ प्रकारका क्यान्सरजन्य रसायन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। धूमपान गर्नेले उडाएका धुवाँको असरले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ।

सरकारले सार्वजानिकस्थलमा धूमपान गर्न निषेध गरेको छ। तर यो क्रम रोकिएको छैन। उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाई नियन्त्रण गर्न आवश्यक रहेको बताए।

उनले भने, “सरकारले बर्सेनि सुर्तीजन्य पदार्थमा करका दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ। सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हुन्छ।”

उपप्रधानमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिनेछ भने।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु, मिर्गौला, क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइराखेको बताए। उनले यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक छ भने।

‘सुर्तीजन्य पदार्थ होइनन्, स्वास्थ्य रोजौँ’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। यस वर्षको नारा ‘सुर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौँ’ भन्ने रहेको छ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो प्रदेशमा सुर्तीजन्य पदार्थले निम्त्याउने रोगका बारेमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए।

पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले सांसद विकास कोषको रकम सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न कार्यविधि बनाउन आवश्यक रहेको बताए।

सो अवसरमा स्वास्थ्यमन्त्री ब्लुमवर्ग जनस्वास्थ्य पुरस्कार मन्त्री पुन, सांसद अधिकारी, सहसचिव रामकृष्ण सुवेदी तथा स्वास्थ्य पत्रकार मञ्चलाई वितरण गरिएको थियो। सो पुरस्कारको राशि रु ५० हजार रहेको छ।

Advertisement

Advertisement

Advertisement