खुशी भएर मोदीलाई बधाई दिन गएका ओली मोदीलाई भेटेपछि खिन्न

Advertisement

नयाँदिल्ली । प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी ओली यस पटकको यात्रामा खिन्नझैँ देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए ।

शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।

‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले ‘यो कुनै गोप्य दस्तावेज होइन’ भने ।

‘उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो,’ उनले भने । अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकीकरण क्रममा आलोपालो सरकार चलाउने सहमति भएको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।

अघिल्लो वर्ष जेठ २ मा ओली र दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको चौथो बुँदामा दुवै अध्यक्षले समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप सरकारको नेतृत्व गर्ने उल्लेख छ । ओलीले आफू र अध्यक्ष दाहालबीच कुनै असमझदारी नभएको समेत दाबी गरे ।

ओली–मोदी भेट
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार बिहान द्विपक्षीय भेटघाटमा ‘उच्च राजनीतिकदेखि जनस्तरसम्म विश्वासको वातावरणलाई निरन्तरता दिँदै द्विपक्षीय हितका विषय अघि बढाउने’ छलफल भएको छ ।

हैदरावाद हाउसमा मध्याह्न भएको आधा घण्टा लामो भेटघाटमा दुई प्रधानमन्त्रीले पछिल्ला वर्ष नेपाल–भारत सम्बन्ध सकारात्मक ढंगले अघि बढेको र त्यसले सकारात्मक परिणाम दिएको भन्दै सन्तुष्टि व्यक्त गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । ‘राज्यस्तरमा पनि र जनस्तरमा पनि अत्यन्त राम्रो प्रभाव पारेको अनुभूति भएको छ भन्नेमा दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यत्त गर्दै यही भावनालाई अगाडि बढाउन सहमत हुनुभयो,’ उनले भने ।

ओलीले मोदीलाई लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)को जितका लागि बधाई दिएका थिए । प्रत्युत्तरमा मोदीले आफ्नो निमन्त्रणा स्विकारेर शपथग्रहण समारोहमा सहभागी भएकोमा ओलीलाई धन्यवाद दिए ।

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । दोस्रो पटक प्रधानमन्त्री भएयता ओलीको यो दोस्रो भारत भ्रमण हो । यसअघि २०७४ चैतमा गरेको औपचारिक भ्रमणले चार वर्षअघि भारतद्वारा नेपालमाथि लगाइएको नाकाबन्दी र विरोधमा नेपालले लिएको अडानका कारण मोदी–ओली सम्बन्धमा देखिएको तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो ।

शपथग्रहणमा बिमस्टेक राष्ट्रलाई निम्तो गरेर भारतले दक्षिण एसियाली सहयोग संगठन (सार्क)लाई पाखा लगाउन खोजेको आशंका भइरहेका बेला ओलीले सार्क यस क्षेत्रको सबैभन्दा उच्च मञ्च भएको दाबी गरेका छन् । ‘यो क्षेत्रमा मित्रतापूर्ण र हार्दिक सम्बन्ध विकास गर्न सार्क सबैभन्दा उत्तम मञ्च हो,’ उनले भने ।

यस पटक भारतले शपथग्रहणमा बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपतिलाई निम्तो गरेको थियो । पाँच वर्षअघिको शपथग्रहणमाभने सार्कका सरकार प्रमुखहरू उपस्थित थिए ।

भारतको पछिल्लो कदमलाई उसको पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धको प्रभावका रूपमा बुझिएको छ । ‘बिमस्टेक सदस्य राष्ट्रप्रमुखलाई शपथग्रहणमा बोलाउनु भारत सरकारको लुक इस्ट नीतिको निरन्तरता हो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

ओलीले सार्कका सम्बन्धमा आफू आशावादी रहेको बताए । उनले सार्क अध्यक्ष भए पनि नेपाल एक्लैले यो क्षेत्रीय संगठनलाई अगाडि बढाउन सम्भव नभएकाले यसका लागि सार्कका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूसँग कुराकानी भइरहेको बताए । ‘सार्कलाई पुनर्जीवन र पुनः गतिशील बनाउँदा यो क्षेत्रमा शान्ति, सुव्यवस्था, मित्रता, समझदारी र सहकार्य कायम हुन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा हो,’ उनले भने ।

ुकुनै व्यक्ति आउँदैमा सम्बन्धमा असर पर्दैन’
पूर्वविदेश सचिव एस जयशंकरलाई भारतीय विदेशमन्त्री बनाइएकोमा नेपालमा चासो व्यक्त भइरहँदा ओलीले यसबाट नेपाल–भारत सम्बन्धमा असर नपर्ने बताएका छन् । सरकार र मन्त्री कस्तो बनाउने भन्ने भारतीय जनता र प्रधानमन्त्री मोदीको निजी कुरा भएको उनको भनाइ छ ।

‘हामीलाई त्यसको कुनै चासो छैन र दुई देशबीचको सम्बन्धमा खासै प्रभाव पर्दैन,’ ओलीले भने । २०७२ मा नेपालमा गणतान्त्रिक संविधान जारी गर्ने पूर्वसन्ध्यामा तत्कालीन विदेश सचिव जयशंकर मोदी सरकारको विशेष दूतका रूपमा काठमाडौं गएका थिए ।

शंकरमाथि संविधानको मस्यौदाका केही बुँदामा संशोधन गर्न नेपालको राजनीतिक नेतृत्वमाथि कूटनीतिक मर्यादाविपरीत दबाब दिएको आरोप लागेको थियो । भारतको अपेक्षाविपरीत तत्कालीन संविधानसभाले संविधान पारित गरेपछि भारतले मधेस केन्द्रित दलले गरेको आन्दोलनलाई समर्थन गर्दै नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरेको थियो ।

उक्त नाकाबन्दीका लागि जयशंकरले नै दिल्लीलाई प्रेरित गरेको नेपाल–भारत सम्बन्धका जानकारहरूले दाबी गर्दै आएका छन् ।
कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement