पार्टी नीतिविपरित काँग्रेस नेता खड्का भन्छन्– साँसदलाई ६–६ करोडले पुग्दैन, १०–१० करोड दिनुपथ्र्यो

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका एक नेता नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपियाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने तर्क गरेका छन् । उनकै पार्टीले संघीयता कार्यान्वयन भई स्थानीय निकाय सक्रिय भएपछि साँसदहरुलाई पैसा बाँड्नु गलत भएको बताउँदै आएको बेला खड्काले भने स्वागत गरेका हुन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ । यो गर्नुपर्छ । सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ ।’ अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै खड्काले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको तर्क गरे ।

काँग्रेसका अरु नेताहरुले भने बजेट वितरणमुखी भएको भन्दै आलोचना गर्दै आएका छन् । खड्काले त्यो कुराको खण्डन गर्दै थपे, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन् ।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ ।

नेता खड्काले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन् । सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्बको हाराहारीमा पुगेकोमा पनि खड्काले बताए ।
पुँजीगत खर्च ४५ प्रतिशतभन्दा बढि हुन नसकेकोमा उनले गुनासो पोखे । खड्काले भने, ‘हामीले प्राप्त गरेको मन्त्रालयगत पुँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ ।’

खड्काले सामाजिक सुरक्षाको दायित्व बढि भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए । पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै उनले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए ।

३५ अर्वभन्दा बढिको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयत हुने गरेको पनि सुनाए । खड्काले भने, ‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ ।’

Advertisement

Advertisement

Advertisement