‘आलोपालो सरकार चलाउने सहमति भएकै हो, अब प्रधानमन्त्री हुने पालो प्रचण्डको’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता हरिवोल गजुरेलले सो पार्टीका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको बताएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘यो कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हुन् । उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भैसकेको छ ।’ पालै पालै सत्ता सञ्चालन गर्ने कुरा उनीहरुबीच गोप्य सहमति भएको सुनिए पनि प्रचण्डले सार्वजनिक कार्यक्रममा ओलीले नै पाँच बर्ष सरकार चलाउने बताउँदै आएका थिए ।

तर गजुरेलले भने अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे । उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै थपे, ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको गजुरेलको भनाई छ । उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए । गजुरेलले भने, ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ ।’

यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने गजुरेलले असन्तुष्टि पोखे । उनले भने, ‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’

Advertisement

Advertisement

Advertisement