संविधान संशोधन नभए बाबुराम र उपेन्द्र चुप लागेर नसस्ने

baburam-upendra

बाँके । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले संविधान संशोधन नभए आफूहरु सरकार छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको अभिमुखीकरण कार्यक्रममा नेपालगञ्जमा बोल्दै बाबुराम र उपेन्द्रले विगतको सहमति कार्यान्वयनमा प्रधानमन्त्रीले उदासिनता देखिएको बताए ।

भट्टराईले कम्युनिष्ट र काङ्ग्रेसको विकल्पका रूपमा समाजवादी पार्टी अगाडि बढेको बताउँदै सरकारसँग अहिलेसम्म भएका सम्झौता पालना गर्नुपर्ने बताए । अर्का अध्यक्ष एवम् उपप्रधानमन्त्री यादवले भने, “संविधान संशोधन गर्न प्रधानमन्त्रीले लिखित सम्झौता नै गर्नुभएको छ । तर उहाँ सम्झौताविपरीत अघि बढिरहनुभएको छ । हामी अन्तिमपटक उहाँलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्छौ, त्यसो नभए सरकार छाडेर आन्दोलनमा जानुको विकल्प छैन ।”

संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएकाले तत्काल सहमति कार्यान्वयन गर्न यादवले माग गरे । अभिमुखीकरण कार्यक्रममा पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षद्वय नवराज सुवेदी, पर्शुराम खापुङ, महासचिव गङ्गानारायण श्रेष्ठ, सचिव एवं शहरी विकासमन्त्री मो इश्तियाक राईलगायतले सङ्घीयताको जननी तराई–मधेस नै भएको दाबी गर्दै केही शक्तिहरु सङ्घीयता विघटन गर्ने दिशामा अघि बढेको बताए ।