डेनमार्कमा हुने सामान्य कार्यक्रममा काँग्रेस नेताहरु लर्को लागेर जाँदै, नातागोतालाई पनि लैजाने

Advertisement

काठमाडौं । कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन् । आगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो ।

कांग्रेसले एउटै कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउँदा र वक्ता बनाउँदा कार्यक्रमको उद्देश्य नै प्रभावित हुने भन्दै छरितो कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर, विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउने र विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुने भन्दै पार्टीभित्रैबाट विरोध सुरु भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति विमलेन्द्र निधिले आफूसहितका पदाधिकारी, केन्द्रीय नेता, प्रतिष्ठानका सदस्यसहितका नेता डेनमार्क जान लागेको जानकारी दिए । ‘३२ वटा देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहित आउन चाहने सदस्यलाई प्रशिक्षण दिन बोलाएका छौँ,’ निधिले नयाँ पत्रिकासित भने, ‘प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानको व्यवस्था, महसमितिका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल हुनुका साथै विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयन गराउन दबाब दिने कार्यक्रम छ ।’ प्रशिक्षणका लागि जान लागेका नेताहरूको भिसा आवेदन दिइसकिएको छ ।

प्रशिक्षण केका लागि ?
प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले पनि विश्वभर रहेका कांग्रेसका कार्यकर्ताबीच आइडिया सेयर गर्ने र नेपालको विकासका लागि सुझाब लिन कार्यक्रम गर्न लागिएको जानकारी दिए । ‘३२ वटै देशको जनसम्पर्क समितिको कोअर्डिनेसन डेनमार्कको समितिले गर्नेछ,’ उनले भने, ‘त्यहाँ तीनदिने प्रशिक्षणमा डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् र नेपालको शान्ति, समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन् भन्ने पनि बुझ्नेछौँ ।’ पूरै कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेका छन् । पहिलो दिन कार्यक्रमको उद्घाटन, दोस्रो र तेस्रो दिन प्रशिक्षणको कार्यक्रम छ ।

श्रीमती र दुई छोरासहित जाँदै उपसभापति निधि
अपारदर्शी ढंगले नाम छनोट

डेनमार्क जाने नेताहरूको नाम अपारदर्शी ढंगले छनोट गरिएको एक केन्द्रीय सदस्यले बताए । ‘एउटै कार्यक्रममा यसरी यति धेरै नेता जाने कार्यक्रम भएपछि पार्टीमा छलफल भएको छैन,’ ती नेताले भने, ‘कसलाई लाने र नलाने भन्ने नेताहरूले स्वविवेकमा तय गरेका छन् । यति धेरै संख्यामा किन जान लागियो आश्चर्य लागेको छ ।’

उपसभापति निधि त परिवारसहित नै जाँदै छन् । उनको साथमा पत्नी र दुई छोरा पनि हुने बताइएको छ । ‘पार्टीले राष्ट्रिय जागरण अभियानदेखि कार्यक्रमलाई छरितो बनाउने घोषणा गर्यो,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘यति धेरै जन्ती डेनमार्क होइन, डिल्लीबजारमा हुने कार्यक्रममा पनि जान हुँदैन ।’ जति नेता गए पनि भाषणै गर्ने भन्दै उनले उपसभापति र महामन्त्री मात्रै गए पुग्ने बताए । सकारात्मक प्रभावका लागि गर्न लागिएको कार्यक्रममा जाँदा सम्पर्क समितिलाई अनावश्यक आर्थिक भार पर्ने र नकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

पौडेल भन्छन्– नो कमेन्ट

१२ औं महाधिवेशनपछि प्रतिष्ठानकै नेतृत्व सम्हालेका नेता रामचन्द्र पौडेलले निष्पक्ष रूपमा कार्यक्रम गर्नुपर्ने पक्षमा आफू रहेको बताए । ‘प्रशिक्षणको बोलाउनुपर्ने सबैलाई बोलाइएको छैन भन्ने सुनेको छु’ पौडेलले भने, ‘बेल्जियम, अष्ट्रेलिया, क्यानडा, जापानसहित देशका समितिलाई नबोलाइएको सुनेको छु । सबैलाई बोलाएर राम्रो, निष्पक्ष र छरितो कार्यक्रम गर्नुपर्छ ।’

यी हुन् डेनमार्क सूचीमा रहेका नेता र पदाधिकारी

उपसभापति विमलेन्द्र निधि दुई छोरा र श्रीमतीसहित
डा. शशांक कोइराला महामन्त्री
विश्वप्रकाश शर्मा, प्रवक्ता
केन्द्रीय सदस्यहरू
डा. रामशरण महत
डा. मिनेन्द्र रिजाल
नविन्द्रराज जोशी
गगन थापा
भीष्मराज आङदेम्बे
दीपक गिरी
धनराज गुरुङ
अर्जुनप्रसाद जोशी
गोविन्द्र भट्टराई
किरण पौडेल आमन्त्रित सदस्य
आरजु राणा
दुर्लभ थापा भक्तपुर सभापति
प्रतिष्ठानका तर्फबाट
पुरुषोत्तम दाहाल (कार्यकारी निर्देशक)
राजु नेपाल
कान्ता रिजाल
नानुमैंया बास्तोला
प्रतिमा गौतम
मुक्ति आचार्य (सचिव केन्द्रीय कार्यालय)
प्रकाश शर्मा (केन्द्रीय कार्यालय)
यी हुन् डेनमार्क जाने
तयारीमा रहेका नेता
(केन्द्रीय कार्यालय)

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement