तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा, ४१ देशका ७ सय जना सहभागी हुने

Advertisement

काठमाडौं । आउँदो बिहीबारदेखि काठमाडौंमा हुने तेस्रो हिमालयन ट्राभल मार्टको तयारी पूरा भएको छ । आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएशन नेपाल च्याप्टर अर्थात पाटा नेपालले जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी होटलमा हुने मार्टको तयारी भएको जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास उल्लेख भूमिका खेल्ने अपेक्षा गरिएको मार्टमा व्यवसायी–व्यवसायीबीच हुने किनमेल अर्थात बी टु बी कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धन तथा व्यवसायीहरुका बीच सञ्चाल विस्तार गर्न सहयोग पुग्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

विस्तारै ब्राण्डिङ्ग हुँदै आइरहेको हिमालयन ट्राभल मार्टले विश्व बजारमा नेपालको सशक्त उपस्थिति जनाउन सहयोग पुगेको पाटाले जनाएको छ । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको छ ।

हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वव्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच व्यापार आदान–प्रदान तथा सम्बन्ध सञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस बिजनेस–टु–बिजनेस मार्टको परिकल्पना गरिएको छ । यस पटकको बीटुबी मार्टमा ३० देशबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा देश (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने भएका छन् ।

मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधिहरुले समेत सहभागिता जनाउने छन् । समग्रमा नेपालसहित ४३ देशका झण्डै सात सय जनाले मार्टमा सहभागिता जनाउने छन् ।

तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने आयोजकले जनाएको छ । भ्रमण वर्षलाई सफल बनाउन मार्टको तेस्रो दिन ८ तारिखमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्लगर्स तथा मिडियाहरुलाई नेपालका पर्यटकीय गन्तव्यबारे ब्रिफिङ गरिने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement