राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, ७७ वटै जिल्लाबाट सहभागिता

Advertisement

काठमाडौं । राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पुरा भएको कार्यक्रमको सह–आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

उद्योग विभागले आयोजना गर्ने प्रदर्शनी जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ । सोमबार पत्रकार सम्मेलन गरी प्रदर्शनी आयोजनाबारे जानकारी दिइएको हो । ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा दुई सय स्टलहरु रहने छन् ।

विभागका महानिर्देशक विनोदप्रकाश सिंहले यस प्रदर्शनीले मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूलप्रवाहिकरण गर्ने र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरि हौसला प्रदान गर्ने काम गर्दै आएको बताए ।

महासंघका अध्यक्ष श्याम गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्याङ्क हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या तीन लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको जानकारी दिए ।

तथ्यहरु हेर्दा लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधिकरण र प्रवद्र्घन बिना स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव नदेखिएको भन्दै उनले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर समेत सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पुर्याउने, साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ यो प्रदर्शनीको आयोजना गरिदै आएको बताए ।

२०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीहरुलाई भृकुटीमण्डपमा भेला पारि घरेलु तथा साना उद्योग विकास समितिले सरकारीस्तरबाट शुरु गरेको यो अहिलेको प्रदर्शनी ३०औं हो । २०४६ सालदेखि कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कार समेत समावेश गरि सञ्चालन हुँदै आएको छ ।

यस पटकको प्रदर्शनीमा ७७ जिल्लाबाट प्रति जिल्ला कम्तिमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ । प्रदर्शनी अवधीमा एक लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement