घान्द्रुकमा ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’

Advertisement

पोखरा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको सोमबार समापन गरे । कार्यक्रममा उनले खेल पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै नेपाल खेल पर्यटनका दृष्टिले उत्तिकै सम्भावनायुक्त स्थल भएको बताए ।

उच्च हिमाली क्षेत्रका साथै यहाँका विभिन्न स्थानमा विभिन्न खेलको सम्भावना रहेको विश्वकर्माले बताए । उनले प्राकृतिक एवम् भौगोलिक स्थितिको उपयोग गर्नुपर्ने बताए । घान्द्रुकमा ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ बनाउने सरकारको योजना रहेको विश्वकर्माले बताए । उनले त्यसका लागि अघिल्लो वर्ष रु १५ लाख विनियोजन गरिएकामा यस वर्ष रु ५० लाख विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री विश्वकर्माले दोस्रो अन्नपूर्ण म्याराथनका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट, हरिकुमार रिमाल र गोपाल तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले क्रमशः रु एक लाख पाँच हजार, रु ७५ हजार र रु ५५ हजार पुरस्कार प्राप्त गरे । कार्यक्रममा पूर्व संविधानसभा सदस्य राजीवविक्रम शाह, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङलगायतले अन्नपूर्ण क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन र यसको पहिचानलाई जोगाउन महोत्सव तथा म्यारथन प्रतियोगिता आयोजना गरिएको बताए ।

Advertisement

Advertisement

Advertisement