सार्वजनिक कार्यक्रममा माशु खान प्रतिवन्ध

Advertisement

रुकुम (पश्चिम) । आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो ।

सरकारबाट विकासका लागि प्राप्त हुने बजेट फजुल रूपमा खर्च हुने क्रम बढेको भन्दै नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको जनाएको छ । खाना तथा खाजामा मासुको प्रयोग बढ्दै गएपछि फजुल खर्च बढ्ने भएकाले प्रतिबन्ध लगाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

‘मासु खाँदा धेरै पैसा खर्च हुने गरेको छ, यसले आर्थिक व्ययभार मात्र थपेको छ,’ उनले भने, ‘फजुल खर्चलाई कटौती गरी जुन उद्देश्यका लागि रकम विनियोजन भएको हो, त्यसमै खर्च बढाउने उद्देश्यले सार्वजनिक कार्यक्रममा खाना र खाजामा मासुजन्य पदार्थको प्रयोगलाई रोक्ने निर्णय गरेका हौँ ।’ सरकारबाट प्राप्त भएको रकम दुरुपयोग हुने क्रम बढ्दै गएपछि नगरपालिका नयाँ निर्णय गर्न बाध्य भएको उनको भनाइ छ ।

नगर कार्यपालिकाको ३२औँ बैठकले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध गर्ने निर्णय गरेपछि अब नगरपालिकामा आयोजना हुने सार्वजनिक कार्यक्रममा शाकाहारी खाना र खाजाको मात्र प्रयोग हुने भएको छ । निर्णयविपरीत कुनै कार्यक्रममा मासुको प्रयोग भएको पाइएमा भुक्तानी रोक्का हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

अतिथिले १० र प्रमुख अतिथिले ३० मिनेट मात्र बोल्न पाउने

नगरपालिकाले निर्माण गरेको सार्वजनिक कार्यक्रम सञ्चालन आचारसंहिताले कुनै पनि सार्वजनिक कार्यक्रममा अतिथि र प्रमुख अतिथिले बोल्न पाउन समयसीमा पनि तोकेको छ । अब प्रमुख अतिथिसहित बढीमा पाँचजना मात्र अतिथि राख्न पाइनेछ । अतिथिले १० मिनेट र प्रमुख अतिथिले ३० मिनेट मात्र बोल्न पाउनेछन् । त्यस्तै, धार्मिक तथा सांस्कृतिक कार्यक्रमबाहेक अन्य कार्यक्रममा बजारमा पाइने खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।

स्थानीयस्तरमा उत्पादन भएका फूल तथा सामग्रीबाट निर्माण भएका मालालाई जोड दिइने आचारसंहितामा उल्लेख छ । आयोजकले कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा २४ घन्टाअगावै प्रमुख अतिथि तथा अन्य अतिथिलाई पत्राचार गर्ने, पत्रमा उल्लेख भएअनुसार समयमै कार्यक्रम सुरु गर्ने र समयभन्दा दश मिनेट वा सोभन्दा ढिलो आउनेलाई प्रमुख अतिथि वा अतिथि बनाउन आयोजक बाध्य नहुने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

नयाँ पत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement