उदयपुरको कटारी अस्पतालमा प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत

Advertisement

उदयपुर । जिल्लाको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूतिसेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।

सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा. पवनकुमार साहले बताए । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा. साह, नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले शल्यक्रिया गरेको हो । यसअघि २५ शैययाको कटारी अस्पतालमा प्रसूतिसेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र बिराटनगर जाने गरेका थिए ।

कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लामो समयको प्रयासपछि शल्यक्रियासहित प्रसूतिसेवा उपलब्ध गराउन सफल भएको बताए। “अब कटारी क्षेत्र, ओखलढुङ्गाको पूर्वी दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका सुत्ेकेरीलाई सहज भएको छ”, उनले भने । दुई वर्ष अघि कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूतिसेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरेको थियो । चिकित्सक र तालीम प्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन् । नगरप्रमुख श्रेष्ठले सफल रुपमा प्रसूति गराउने टोलीलाई ५० हजार पुरस्कारसमेत प्रदान गर्नुभएको छ । जिल्ला अस्पताल गाइघाटले भने २०६७ देखि नै प्रसूतिसेवा शुरु गरेको हो ।

Advertisement

Advertisement

Advertisement