कलंकी–कोटेश्वर सडकमा सवारी तीव्र गतिमा हाँक्न नपाइने, गति सीमा प्रतिघण्टा ५० किमि

Advertisement

काठमाडौं । चीन सरकारद्वारा निर्मित कलंकी–कोटेश्वर सडक खण्डमा सवारी तीव्र गतिमा हाँक्न नपाइने भएको छ । तीव्र गतिमा सवारीसाधन हाँकेकै कारण दुर्घटना बढिरहेको भन्दै ट्राफिक प्रहरीले सोमबारदेखि लागू हुनेगरि गति सीमा निर्धारण गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार आठ लेनको करिब साढे १० किमी खण्डमा मुख्य लेनमा ५० किमी प्रतिघण्टा गति सीमा तोकिएको छ भने सर्भिस लेनमा २० किमी प्रतिघण्टा तोकिएको छ । तोकिएको गतिभन्दा बढी गतिमा सवारीसाधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ ९६० बमोजिम आवश्यक जरिवाना र कारबाही हुने महाशाखाले जनाएको छ ।

उक्त दफामा चालक अनुमतिपत्र, बाटो इजाजतपत्र (रुट परमिट) वा यातायात सञ्चालन अनुमति पत्र खारेज गर्न सक्ने उल्लेख छ । चीन सरकाद्वारा नवनिर्मित कलंकी–कोटेश्वर सडक खण्डमा चार लेन मुख्य र दुईतिर दुई/दुई सर्भिस लेन रहेका छन् । तर, सडक पैदल यात्रुमैत्री नभएको तथा मेडियन, पर्याप्त ओभरहेड ब्रिज, जेब्राक्रसिङ नभएकोले दुर्घटना बढेको बताइएको छ । सडक विभागले अध्ययन गरेर यो सडकलाई पैदल यात्रुमैत्री र सुरक्षित बनाउनका लागि काम सुरु गर्ने तयारी गरिरहेको पनि महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement