त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ‘रिमोर्ट पार्किङ वे’ निर्माण

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ ।विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । नयाँ पार्किङसहित अन्तर्राष्ट्रिय पार्किङ वे को सङ्ख्या ११ पुगेको छ । महाप्रबन्धक क्षेत्रीले पार्किङ क्षेत्र निर्माण भएसँगै विमानस्थलको चाप व्यवस्थापनमा सहज हुने बताए । यसअघि पार्किङको समस्याका कारण पनि विमानस्थलमा जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका थिए ।

उनका अनुसार रु ४० करोड ५० लाखको लागतमा झण्डै १६ महिनाको अवधिमा पार्किङ क्षेत्र बनाइएको हो । एक मात्र धावनमार्ग र पर्याप्त पार्किङ वेको अभावमा त्रिभुवन विमानस्थलमा बढी ट्राफिक चाप पर्दै आएको छ । विमानस्थलको दक्षिणपूर्वी क्षेत्रमा समेत नयाँ पार्किङ वे निर्माण भइरहेको छ । यसमा पनि दुई वाइडबडी जहाज राख्न सकिने विमानस्थलले जनाएको छ ।

सामान्यतया अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइएको हुन्छ । त्यहाँ जहाज राख्नुको मतलब सम्भावित क्षति न्यूनीकरण गर्नु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ क्षेत्र बनाइएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमै पहिलो पटक धावन मार्ग पूर्णरुपमा मर्मत ‘रनवे रिह्याब’ को काम तीव्र गतिमा भइरहेको छ । धावनमार्ग मर्मतको ६० प्रतिशत काम सम्पन्न भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । गत चैत १८ देखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरेर मर्मतको काम गरिँदै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वाट वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् ।

Advertisement

Advertisement

Advertisement