‘वाइडबडी जहाज लामो दूरीमा उडाउन नसक्ने निगमका कार्यकारी अध्यक्षलाई तत्कालै हटाउनुपर्छ’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व ल्याउनुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा रायमाझीले निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमलाई सुधार गर्ने भन्दा धरासायी बनाउने काम गरेको भन्दै तत्काल उनलाई हटाएर सक्षम मान्छेलाई कार्यकारी प्रमुख बनाउनुपर्ने बताए ।

वाईडबडी सुविधा सम्पन्न जहाज भएकोले यसलाई लामो दुरीमा चलाउनुपर्ने पनि उनले सुझाए । रायमाझीले भने, ‘वाईडबडीलाई भारतको नयाँ दिल्ली, मुम्बई र कलकत्तामात्रै उडाएर हुँदैन, यदि त्यसो गरियो भने कुनै फाईदा हुँदैन् ।’ निगमका वर्तमान अध्यक्षले किन वाईडबडीलाई लामो दुरीमा उडान भर्ने वातावरण बनाउन नसकेको भन्दै रायमाझीले असक्षम मान्छेलाई नेतृत्वमा राखिरहन नहुने बताए ।

उनले भने, ‘सरकारी संस्थानहरु किन कमजोर हुन्छन् ? यस विषयमा सरकारले अब सोच्नुपर्छ । प्राईभेटहरुले चलाउन सक्ने अनि सरकारीले किन नसक्ने ? यदि यस्तै अवस्था रहिरहे निगमको नेतृत्व नै असफल हुन्छ, अब नयाँ सक्षम नेतृत्वलाई ल्याउनुपर्छ । अहिलेको अध्यक्षले काम गर्न नसके तत्काल फेर्नुपर्छ ।’

रायमाझीले यो वर्षको बजेट गत वर्षको भन्दा धेरै राम्रो आएको टिप्पणी गरे । उनले भने, ‘अघिल्लो वर्षको बजेट राम्रो आएको थिएन । तर, यो वर्ष राम्रो बजेट आएको छ । पूर्वाधार विकासको क्षेत्रमा र सामाजिक सुरक्षा कार्यक्रम हेर्दा अघिल्लो वर्षको बजेटभन्दा यो वर्षको बजेट तुलनात्मक रुपमा धेरै राम्रो छ ।’

उनले यो वर्षको बजेट विकास र समृद्धिमा टेवा पुग्ने खालको रहेको पनि दाबी गरे । रायमाझीले सांसदहरुलाई दिईएको ६ करोड बजेट राम्रो भएको प्रंशसा गर्दै अझै अपुग रहेको आवश्यकत्ता औंल्याए । उनले भने, ‘सांसदहरुलाई दश करोड दिएको भए राम्रो हुन्थ्यो ।’

नेपालको संसद अमेरिकाको सिनेट र युरोपियन युनियको संसदजस्तो नभएको भन्दै पूर्वाधार विकास र आर्थिक समृद्धिको सवालमा नेपाल धेरै पछाडि रहेको पनि उनको भनाई थियो । कानून र ऐन बनाउन जान्छौं भन्यो भने जनताले भोट नदिने तर विकास र समृद्धि गर्छु भनेर मच्चिएर भाषण गर्दा मात्रै भोट दिएर जिताउने पनि रायमाझीले सुनाए ।

नेपालको विकासलाई एउटा स्तरमा माथि पुर्याउनको लागि पनि स्थानीय विकास पूर्वाधार कोषलाई राख्नुपर्ने उनको भनाई छ । रायमाझीले सांसदलाई दिईने पैसा यदि दुरुपयोग हुन्छ भन्ने लाग्यो भने त्यसलाई कानून तथा नियमावली बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

नेकपाभित्र अहिले कुनै विवाद नरहेको पनि उनले जिकिर गरे । रायमाझीले नेकपाभित्र औपचारिक रुपमा दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने विषय नआएको बताए । उनले भने, ‘यो विषय हाम्रो पार्टीभित्र औपचारिक प्रस्तावको रुपमा आएको छैन् । नेताविशेषको कुरामा लागेर हुँदैन । यसमा बहस गरिरहनुपर्ने म आवश्यकत्ता ठान्दिन् ।’

आफू यो वा त्यो अध्यक्षको पक्षमा नभई दुवै अध्यक्षको पक्षमा रहेको पनि रायमाझीको दाबी छ । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको गोप्य सहमति आफूहरुलाई थाहा नभएको पनि रायमाझीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement