मालपोतका कर्मचारीसँग मिलेर पिच सडक नै बेच्नेहरु पक्राउ

Advertisement

धुलिखेल । मालपोतका कर्मचारीसँग मिलेर पिच सडक नै बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल–७, बखुण्डोलका मिना भैल, लोकेन्द्र तोलाङ्गे र उनकी श्रीमती सोनु तोलाङ्गेलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले आफूलाई झुक्याएर पिच सडक नै बिक्री गरेको उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । साविक धुलिखेल नगरपालिका–३ को कित्ता नम्बर ६५२ नम्बरको ३ आना जग्गा काठमाडौं विश्वविद्यालय जाने बाटो मुनि भनी देखाएर पिच सडक बिक्री गरेको पीडितको भनाई छ ।

उक्त पिच सडक तीन जनाले २२ लाखमा बिक्री गरेका थिए । नापी कार्यालयले उक्त जग्गा मोटरबाटो भएको प्रमाणित गरेपछि पीडितह्रु कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रविण बाटीले प्रहरीमा उजुरी दिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ ।

प्रहरीका अनुसार नक्कली टे«स नक्सा बनाइ अरुको जग्गा देखाइ विश्वास दिलाएर पिच सडक बिक्री गरिएको थियो । यसअघि २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलाङ्गे मिजारले सोही जग्गा खरिद गरेका थिए ।

दोश्रो पटक ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलाङ्गे मिजारले २०७३ बैशाख ७ गते ६ लाख ५० हजार मुल्य राखी भक्तपुर १७ घर भएकी मिना भैललाई बेचेका थिए भने मिना भैलले २०७५ साल असोज ५ गते कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रविण बाटीलाई २२ लाखमा बिक्री गरेका थिए ।

पैसाको लोभमा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत र नापी कार्यालयकै कर्मचारीहरु प्रमुख दोषी रहेको स्थानीयको भनाई छ । उनीहरुले भूमाफियासँग मिलेर सरकारी जग्गा देख्नासाथ निजी गराइदिने प्रवृत्ति निरुत्साहित गर्न सरकारी कर्मचारीलाई पहिला कारवाही गर्नुपर्ने बताउँछन् ।

Advertisement

Advertisement

Advertisement