उत्पादन सुरु हुन लागेको बेला तल्लो मोदीमा कर्मचारीले तालाबन्दी गरे, स्थायी गर्नुपर्ने माग

Advertisement

पर्वत । परिक्षण उत्पादनको अन्तिम तयारीमा रहेको पर्वतमा निर्माणधिन २० मेघावाट क्षमताको तल्लो मोदी जलजबिद्युत आयोनामा कार्यरत कामदार र कर्मचारीले तालाबन्दी गरेका छन ।

निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुस्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन भने बिद्युतगृह, हेडर्वक्स र सुरुङ्गमा भैरहेको निर्माण कार्य समेत तीन दिन देखि बन्द गराएका छन । आयोजनाले असार पहिलो साता परिक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारहरुले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको ब्यबस्था हुनुपर्ने र बिद्युत गृह लगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग आयोजना संग राखेका छन ।

आयोजनामा कार्यरत ४० जना कर्मचारीहरुले जेठ २० देखि काम बन्द गराएपछि निर्माण कार्य प्रभावित भएको छ । ‘हामी शुरु देखि निर्माण कार्यमा कार्यरत कर्मचारीलाई थाहै नदिई बाहिरबाट कर्मचारी राख्ने काम भएको छ ।’ सौरभ पौडेलले भने, ‘हामीलाई स्थायी गर्ने कुरा पटक पटक झुटो आश्वासन दिएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको हो’ कर्मचारीले यस अघि जेठको ८ गते देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए । तर २० गतेपछि समस्या समाधान गर्ने सहमतिमा खुलेको थियो । सहमति गर्दै जाने तर कार्यान्वयन नगर्ने प्रबृत्ति देखिएपछि बाध्य भएर आन्दोलन गर्नुपरका रमेश भण्डारीले बताए ।

यता आयोजनाले भने कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र बिद्युत उत्पादन थालिएपछि प्रक्रिया पुरा गरेर मात्रै स्थायी गर्ने योजना रहेको जानकारी दिएको छ । आयोजना प्रमुख पवन यादबका अनुसार अहिले परिक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीहरुलाई सहयोगीको रुपमा राखेर काम गराईएको तर स्थायी नभएको दाबी गरे । ‘हामीले कसैलाई पनि स्थायी गरेका छौ’ आयोजना प्रमुख यादबले भने, ‘बिद्युत उत्पादन पछि नयाँ बिज्ञापन गरेर स्थायी गर्ने प्रकृया शुरु गर्छौ’ अहिले कार्यरत कर्मचारीहरुलाई नै प्रकृयामा पनि प्राथमिकता दिने आयोजनाको उद्देश्य रहेको उनको भनाई छ ।

निजी क्षेत्रको मोर्दी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परिक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भैरहेको छ । बैषाखको अन्तिम साता परिक्षणका लागि टनेलमा पानी पठाउँदा धेरै ठाउँबाट पानी चुहिएपछि मर्मतको काम भैरहेको छ । कुस्मा नगरपालिका ७ चुवाको परादी स्थित पावरहाउस देखि मोदी गाउँपालिकाको पातीचौर सम्म खनिएको ४ हजार २ सय मिटर लामो टनेलको बिचबिचमा कम्जोर भूभाग भेटिएको थियो ।

बन्दका कारण मर्मतको काम रोकिएको छ । हेडवक्र्समा ढोकाहरु मर्मत गर्ने र परिक्षण गर्ने काम चलेको थियो भने बिद्युतगृहमा जेनेरेटर लगायतका साामग्री जडान र परिक्षणकै क्रममा थिए । कर्मचारीको आन्दोलनका कारण परिक्षण उत्पादन झन ढिलाई भएको आयोजना प्रमुख यादब बताउँछन ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement