हेटौँडा सिमेन्टको उत्पादन शुरु, करीब तीन सय जनाले रोजगारी पाए

Advertisement

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको छ ।

१० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएकोे छ ।

उक्त उद्योगले आगामी केही महीनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने जनाइएको छ । उक्त उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट दैनिक १० हजार मेट्रिक टन चुनढुङ्गा सङकलन गर्दै आएको सो उद्योगले जनाएको छ ।

उद्योगद्वारा उत्पादित ऋद्धिसिद्धि ब्राण्डको सिमेन्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए ।

उनका अनुसार व्यवस्थापनले युरेपेली प्रविधि र रोबोट प्रयोगबाट गुणस्तरीय उत्पादन गरिरहेको छ । हाल सो उद्योगमा प्रशासन, प्रयोगशाला, भण्डारण र प्राविधिक र कामदार गरी करीब तीन सय जनाले प्रत्यक्ष रोजगारी पाएको उद्योग व्यवस्थापनले जनाएको छ । हेटौँडामा यसअघि हेटौँडा सिमेन्ट र शिवम् उद्योगबाट सिमेण्टहरु उत्पादन हुँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement