प्रधानमन्त्री कप क्रिकेटमा ठगी, घोषणा गरिएको पुरस्कार राशी खेलाडीलाई दिइएन

Advertisement

काठमाडौं । सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार घोषणा गरिएको थियो । तर, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरेकोमा ३० हजारले मात्रै पुरस्कृत गरियो । उत्कृष्ट बलर राजवंशी नै भएका हुन् भने उत्कृष्ट ब्याट्सम्यान त्रिभुवन आर्मीका राजु रिजाल हुन् ।

उनीहरूलाई शनिबार खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नै पुरस्कृत गरेका थिए । जब कि व्यवस्थापक नेपालय इन्टरनेसनलले प्रतियोगिता सुरु हुनुअघि २ जेठमा पत्रकार सम्मेलन गर्दै विज्ञप्ति नै निकालेर पुरस्कार घोषणा गरेको थियो । यसबारे जानकार मन्त्री विश्वकर्मा र सदस्यसचिव विष्ट शनिबार खेलाडीलाई पुरस्कृत गर्दा थाहा नभएजस्तो गरे । १० जेठदेखि शनिबारसम्म मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरू भएका थिए ।

पुरस्कारमा ठगिएका सर्वोत्कृष्ट खेलाडी ललितनारायण राजवंशी भन्छन्– घोषणा गरिएको पुरस्कार नपाउँदा अचम्म लाग्यो

सर्वोत्कृष्ट हुँदा निकै खुसी थिएँ । पहिले घोषणा गरिएको पुरस्कार पाउने अपेक्षा नराख्ने कुरै भएन । तर, जब पहिले घोषणा गरिएको मोटरसाइकलको सट्टा ५० हजार नगदले पुरस्कृत गरियो, म अचम्ममा परेँ । यो कसले, कसरी गर्‍यो, थाहा भएन । सिनियर दाइहरूले हाम्रो सिप्यानमार्फत आधिकारिक पुरस्कार दिलाउन प्रयास गर्ने बताउनुभएको छ । आशा छ, तर के हुन्छ, थाहा छैन ।

मलाई थाहा भएनः केशवकुमार विष्ट, सदस्यसचिव
खेलाडी ठगिएको भन्ने त मलाई थाहा छैन । प्रतियोगिताअघि पत्रकार सम्मेलनमार्फत गरेको घोषणा तलमाथि हुँदैन । कारणवश केही भूलचुक भएको रहेछ भने बुझेर सच्याउँछौँ । गल्ती गर्नेलाई कारबाही गर्छौँ । घोषणा भएअनुसार खेलाडीलाई पुरस्कार दिलाउने जिम्मा मेरो हो । खेलाडीलाई ठग्ने नियत हाम्रो होइन । कसैले खेलाडी ठग्छ भने पनि हामीलाई स्विकार्य छैन । गल्ती कहाँबाट भयो बुझ्छौँ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement