खाद्यान्न र औषधीको जोहो गर्न भेनेजुएलाका हजारौं नागरिक कोलम्बिया प्रवेश

Advertisement

भेनेजुएला । सीमा क्षेत्र पुनः खुल्ला भएपछि भेनेजुएलाका हजारौँ नागरिकहरु अत्यावश्यक सामग्री किन्नका लागि छिमेकी देश कोलम्बिया प्रवेश गरेका छन् । खाद्यान्न, औषधिसहितका अत्यावश्यक सामग्री किन्नका लागि कोलम्बिया प्रवेश गरेका हुन् ।

राष्ट्रपति निकोशल मादुरोले गएको फेब्रुअरीमा कोलम्बियासँगको सीमा बन्द गरेका थिए । विपक्षी नेता क्आन गुएडोले अमेरिकाले पठाएको मानवीय सहायताका सामग्री भित्र्याउन खोजेको भन्दै मादुरोले नाका नै बन्द गरेका थिए ।

भेनेजुएलामा विगत सात वर्षदेखि जारी आर्थिक संकटका कारण अत्यावश्यक सामग्रीको अभाव भएको छ । सन् २०१५ यता भेनेजुएलाका ४० लाख मानिस बिस्थापित भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीले बताएको छ ।

गएको फेब्रुअरीमा विपक्षीले विदेशी सहायता सामग्री भित्र्याउने प्रयास गरेपछि कोलम्बियासहित ब्राजिल र डच एन्टिलेस आइल्याण्डसँगको सीमा पनि भेनेजुएलाका मादुरोले बन्द गरेका थिए । आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका गुएडोले मादुरोलाई सत्ताबाट हटाउने उद्देश्यसहितको आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।

गएको महिना मादुरोले ब्राजिल र अरुबा आइल्याण्डसँगको सीमा खुला गरेको बताएका थिए । तर अरुबा आइल्याण्डले भने सीमा बन्द नै रहने बतायो । सीमा नाका बन्द गरिँदा सीमाबर्ती बस्तीका कोलम्बियन नागरिकले अत्यावश्यक सामग्री नै पाउन सकेका थिएनन् । यहि कारण बाध्य भएर मादुरोले नाका खुल्ला गर्न भनेका हुन् ।

गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शना गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुस तथा देशको सेनाको साथ छ ।

केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अनदेखा गरेको आरोप निकोलस मादुरोमाथि छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।

आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य छन् । मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।

विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँधली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन चर्किएको हो ।

भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।

Advertisement

Advertisement

Advertisement