दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, जनजीवन कष्टकर बन्दै

Advertisement

काठमाडौं । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ ।

सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताएका छन् । उनले ढलेको पोल बनाइसकेको , रातानाङलासम्म विद्युत सेवा आपूर्ति भएको र दैलेख तर्फको विद्युत लाइन मर्मत गरिरहेको उल्लेख गरे ।

विद्युत आपूर्ति नहुँदा सरकारी कार्यालयको कामसमेत प्रभावित भएका छन् । दैलेखका दुई वटै सामुदायिक रेडियो र स्थानीय पत्रपत्रिकाहरु बन्द भएका छन भने व्यवसायसमेत ठप्प छन् । विद्युत् आपूर्ति नहुँदा यहाँका सरकारी कार्यालयले सेवाग्राहीलाई सहज सेवा दिन सकेका छैनन् । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेखले विद्युत् सेवा नियमित गर्न बेवास्था गरेको स्थानीयवासीको गुनासो छ ।

त्यसैगरी, दैलेखका आम नागरिक अघोषितरूपमा हुने लोडसेडिङको मारमा परेका छन् । अघोषित लोडसेडिङले आम उपभोक्ताको जनजीवन कष्टकर बन्दै गएको छ । आधिकारिक रूपमा लोडसेडिङ नगरे पनि अघोषित लोडसेडिङ घण्टैपिच्छे हुने गरेको छ ।

उक्त घण्टैपिच्छे हुने अघोषित लोडसेडिङले आम उपभोक्ता ग्रसित छन् । यसरी झ्याप्प–झ्याप्प जाने विद्युत् सेवाले आम उपभोक्तामा मात्रै होइन, अत्यावश्यक सेवा क्षेत्र अस्पताल, यातायात, सञ्चारलगायतका क्षेत्रहरु समेत प्रभावित बनेका छन् ।

Advertisement

Advertisement

Advertisement