‘कृषिमा बजेट कम भयो, कम्तिमा कुल बजेटको पाँच प्रतिशत हुनुपथ्र्यो’

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिमा कम बजेट छुट्याईएकोमा असन्तुष्टि जनाउँदै नेपाललाई कृषिलाई व्यवसायीकरण बनाउनका लागि कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याईएको सुनाउँदै भएको बजेटलाई कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको बताए । उनले भने, ‘हामी केही चिनिएका कृषि उत्पादनहरु जस्तो माछा, खसी–बोका र दुधमा निकट भविष्यमा आत्मनिर्भर हुन्छौं । सोहीअनुसार हामीले कार्यक्रम अघि सारेका छौं । यसपटकको बजेटमा पर्याप्त बजेट छुट्याईएको छ ।’

मन्त्री खनालले युवाहरुलाई कृषिमा आवद्ध गराउनेगरि कार्यक्रमहरु अघि सारिएको पनि सुनाए । त्यस्तै, किसानको वर्गीकरण यसपटकको बजेटमा समावेश नभए पनि आफूले यो कार्यक्रमलाई अघि बढाउनको लागि प्रयत्न गरिरहेको पनि उनको भनाई छ । खनालले भने, ‘किसानको वर्गीकरण गर्दा किसानको पहिचान हुन्छ । यसो गर्न सकियो भने उहाँहरुको समस्यापनि त्यहीअनुसार सुन्न पाईन्छ ।’

प्रदेश तथा स्थानीय तहमा सशक्त अनुदानको व्यवस्था गरिएको पनि उनले बताए । खनालले भने, ‘कृषिमा बजेट जति आएको छ, त्यो पर्याप्त छैन । तर, यसको सही सदुपयोग गर्नुपर्छ । यसप्रति हामी चनाखो छौं ।’ मन्त्री खनालले अण्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर भएको पनि सुनाए ।

त्यस्तै, किसानले मल नपाएको सन्दर्भमा टिप्पणी गर्दैै उनले भने, ‘मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पूर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।’ उनले अनुदानमा साँढे तीन खाल मेट्रिक टन मल किसानलाई दिन सकिने भएपनि ६ लाख मेट्रिक टनको माग रहेको सुनाए ।

नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषिको ठूलो योगदान रहेको सुनाउँदै उनले आगामी दिनमा पनि कृषिको वृद्धिदर नघट्ने दाबी गरे । ‘हामीले प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेका थियौं’ खनालले थपे, ‘त्यस्तै धान, गहुँ, मकैलगायत अन्य बालीहरुको जोन तथा सुपरजोन कार्यक्रमलाई पनि सशक्त रुपमा सञ्चालन गरेका थियौं । यही भएर कुल ग्राहस्थ उत्पादनमा कृषिको ठूलो योगदान रह्यो ।’

नेपालबाट अलैंची, अदुवा, कफीको निर्यात भइरहेको सुनाउँदै यी उत्पादनमा अहिले पनि ठूलो माग रहेको उनको भनाई छ । खनालले भने, ‘कफीको ठूलो माग छ, हामी कफीको लागि सुपरजोन बनाएर कार्यक्रम अघि बढाउन लाग्दैछौं ।’ उनकाअनुसार अहिले साँढे ५ सय मेट्रिक टन कपीको उत्पादन भए पनि बजारमा ५ हजार मेट्रिक टनको माग रहेको छ ।

उनले आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी मलको ब्लेण्डिङ कारखाना खोल्न लागिएको पनि सुनाए । ‘यसको लागि हामीले १५ करोडको प्रस्ताव गरिएको छ ।’– खनालले थपे । त्यस्तै, युएसटी र धुलो दुधको फ्याक्ट्री पनि खोल्न लागिएको उनले जनाए ।

उनले सरकारको पहिलो वर्ष आधार वर्षको रुपमा रहेको सुनाउँदै यो अवधिमा कृषिको पनि राम्रो जग बसेको स्पष्ट पारे । खनालले भने, ‘अहिले कृषि क्षेत्रमा राम्रो भएको छ ।’ उनले प्याज, आलुजस्ता उत्पादन पनि आयात भएको वस्तुपरक यथार्थ सुनाउँदै अब यसतर्फ पनि सरकारले विशेष ध्यान पुर्याउने स्पष्ट पारे ।

मलमा कालोबजारी भएको भन्ने कुरामा केही सत्यता रहेकोले त्यसतर्फ पनि आफू चनाखो रहेको बताउँदै उनले विचौलियाहरुलाई कडाई गर्ने चेतावनी दिए । खनालले अहिले कुल जनसंख्याका ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको सुनाउँदै यो संख्यालाई झारेर २५ प्रतिशत बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री खनालले भने, ‘कृषिमा धेरै जनसंख्याको आवद्धताभन्दा यसमा आधुनिकीकरण गर्दै यान्त्रिकरणतर्फ जानुपर्छ । यसमा निर्भर रहेको जनसंख्यालाई अन्य क्षेत्रतर्फ रोजगारी सिर्जना गर्नेतर्फ लगाउनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement