फरक ढंगले तेल बेचिरहेको इरानको दाबी

Advertisement

इरान । तेहरान, अमेरिकी प्रतिबन्धपछि पनि इरानले आफ्नो तेल उत्पादन निर्यात गरिरहेको बताएको छ । “अमेरिकी प्रतिबन्धका कारण इरानको पेट्रोलियम पदार्थ खरिदमा विभिन्न मुलुक डराएपछि इरानले आफ्नो उत्पादनलाई फरक ढंगले बजारमा पठाइरहेको छ,” इरानका तेलमन्त्री बिजान नाम्दार जान्गानेहले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा बताइएको छ ।

“हामीले अनधिकृत तथा फरक ढंगले तेल बिक्री गरिरहेका छौँ र यसबारे सबै कुरा गोप्य राखिएको छ । यदि यो अमेरिकालाई जानकारी भएमा अमेरिकाले यसलाई तत्काल रोक्छ,” इरानको पेट्रोल मामिला हेर्ने मन्त्रालयलाई उद्र्धृत गरी शाना न्यूज एजेन्सीले समाचार प्रकाशन गरेको छ ।

जानगानेहले कति मात्रामा तेलको निर्यात भइरहेको छ र कहाँबाट कसलाई तेल बेचिएको छ भन्नेबारे विस्तृत विवरण प्रतिबन्ध फुकुवा भएपछि मात्र बताइने उल्लेख गरे ।
इरानसँग विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका औपचारिक रूपमा फिर्ता भएको घोषणा गत वर्षको मे महिनामा भएको थियो । त्यसपछि वासिङ्टनले इरानलाई नयाँ सम्झौता गर्न दबाब दिन पहिलेका प्रतिबन्धमाथि थप कडाइ गर्दै नयाँ प्रतिबन्धको समेत घोषणा गरेको थियो ।

इरानको तेल निर्यात गत वर्षको अक्टुबरमा प्रतिदिन १५ लाख ब्यारेल रहेकोमा नयाँ प्रतिबन्धपछि अप्रिलमा ५० प्रतिशत कमी ९७ लाख ५० हजार ब्यारेल० आएको ब्लुमवर्गले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement