बञ्चरेडाँडामा बनेन स्थायी ‘डम्पिङ साइट’, कहाँ व्यवस्थापन होला काठमाडौंको फोहर ?

Advertisement

धादिङ । सरकारले धादिङ र नुवाकोटको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौंको फोहर व्यवस्थापन (डम्पिङ साइट) स्थायीरुपमा गर्ने भनेको १० वर्ष बित्न लाग्दा पनि अझै बनेको छैन ।

पहिले नुवाकोट ककनी गाउँपालिका–२ सिसडोल र विसं २०६२ मा वडा नं ३ ओखरपौवामा अस्थायी फोहर फाल्ने र त्यसको तीन वर्षपछि धादिङको धुनेवेशी नगरपालिका–१ स्थित बञ्चरेडाँडामा स्थायीरुपमा फोहर फाल्ने संरचना बनाउने भने तापनि अझै बनेको छैन ।

बञ्चरेडाँडामा स्थायी संरचना बनाउन नसक्दा अव्यवस्थित फोहर व्यवस्थापनले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फोहर व्यवस्थापनका लागि सरकारले उक्त ठाउँको एक हजार ७८१ रोपनी जमीन अधिग्रहण गरे पनि स्थायी संरचना अझै तयार पारेको छैन । ती अधिग्रहण गरिएको जग्गाको मुआब्जासमेत सरकारले दिइसकेको छ । असारसम्म बञ्चरेमा स्थायी संरचना बनाएर फोहरलाई व्यवस्थापन गर्ने भनिएको थियो ।

उक्त ठाउँमा काठमाडौंको फोहर ५० वर्षका लागि व्यवस्थापन गर्न सकिन्छ । शुरुमा काठमाडौँ महानगरपालिकाको फोहर फाल्ने भने पनि पछि उपत्यकाका १८ वटा स्थानीय तहका फोहर फाल्न थालिएको छ ।

सरकारले पाँच वर्षभित्र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म नबनाएकाले जनजीवन कष्टकर बनेको धुनेवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । उक्त ठाउँमा विसं २०६२ देखि काठमाडौं उपत्यकाको फोहर फाल्ने गरिएको छ । दुई वर्षमा अस्थायीरुपमा ककनीको ओखरपौवा र सिसडोलमा फोहर फाल्ने र त्यसपछि तीन वर्षमा बञ्चरेडाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार निर्माण गरी फोहर व्यवस्थापन गर्ने भनिएकामा १० वर्ष बित्न लाग्दा पनि अझै संरचना तयार पारिएको छैन ।

“स्थायीरुपमा फोहर व्यवस्थापनका लागि अझै काम शुरु गरिएको छैन”, उनले भने, “अस्थायीरुपमा फोहर व्यवस्थापन गर्नाले यहाँका मानिसको स्वास्थ्यमा असर परिरहेको छ ।” यही असारसम्म स्थायी संरचना बनाउने प्रतिबद्धता गरे पनि त्यो पूरा नहुने देखिन्छ ।

अहिले रहेको अस्थायी व्यवस्थापन ककनीमा गरिएको छ । ककनीको ओखरपौवामा रहेको अस्थायी फोहरले धादिङका जनता बढी मारमा परेका छन् । उक्त क्षेत्रका बाटोमा हिँड्दा फोहरको दुर्गन्ध आउने गर्दछ । गिद्ध, चिल र कागले फोहर टिपेर मानिसका घरघरमा पु¥याउने गरेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै फोहरको लेदो बगेर खोलामा मिसिन्छ । उक्त खोलाको पानी न गाईबस्तुलाई खुवाउन हुन्छ न खेतमा हाल्नका लागि । खोलाको पानी गाईवस्तुले खाए पनि मर्ने र खेतमा हाल्नाले बालीसमेत मर्ने गरेको उनी बताउँछन् । बञ्चरेडाँडामा बन्ने स्थायी फोहर व्यवस्थापनबाट फोहरबाट मल बनाउने, ग्यास निकाल्न सकिने भए पनि अझसम्म कुनै ध्यान जान सकेको छैन ।

ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दुई वर्षका लागि फोहर फाल्न भनिएको ठाउँमा १० वर्षसम्म पनि फाल्ने गरेको बताए । “दुई वर्षका लागि भनिएको ठाउँमा अझै पनि फोहर फालिँदैछ”, उनले भने, “फोहरको दुर्गन्धले गर्दा स्थानीयवासी आफ्नो बासस्थान छाडेर अन्यत्र जान थालेका छन् । चाँडोभन्दा चाँडो बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नुपर्दछ ।” उनका अनुसार फोहर गर्दा दक्षिणतर्फका मानिस बढी प्रभावित भएका छन् ।

गाउँपालिका अध्यक्ष लामाले सिसडोल र ओखरपौवाका २५ जनालाई त्यहाँको फोहरले क्यान्सर रोगसमेत लागेकाले गाउँपालिकाबाट उपचार खर्च दिएको जानकारी गराए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पप्रसाद कँडेलले स्थायी संरचना बनाउने प्रक्रिया शुरु गरिएको जानकारी गराए ।

उनका अनुसार विदेशबाट कारखाना ल्याई मल, ग्यास बनाइने छ । “प्लान्ट बनेपछि यहाँका जनतालाई पनि सहज हुनेछ”, उनले भने, “केही वर्षका लागि काठमाडौंको फोहर व्यवस्थापन गर्न सकिन्छ ।” अधिग्रहण गरिएको जग्गामा फोहर व्यवस्थापन (डम्पिङ साइट) बनाउनेमा भेदभाव गरिएको छ ।

ओखरपौवा र सिसडोलमा फोहर भरिए पनि स्थायी व्यवस्थापन बनिनसकेकाले ती दुई स्थानमा डोजरले माथि पु¥याइ फोहर राखिएको छ । “स्थायी संरचना बनाउनुको सट्टा ओखरपौवा र सिसडोलमा फोहरलाई कोचीकोची राख्ने गरिएको छ”, नगरप्रमुख आचार्यले भने, “फोहरलाई जबर्जस्ती व्यवस्थापन गर्नुको साटो चाँडो स्थायी संरचना बनाएर फाल्नुपर्दछ । स्थायी संरचना बनेपछि फोहरबाट कुनै दुर्गन्ध निस्कँदैन ।”

यसैगरी ओखरपौवा र सिसडोलका क्षेत्रको फोहरदेखि ५०० मिटरसम्मका जग्गा अधिग्रहण गरिएको छ भने धादिङको बञ्चरेडाँडाका स्थानीयवासीको भने २०० मिटर क्षेत्रसम्मको जग्गामात्र अधिग्रहण गरिएको छ । धुनेवेंशी नगरप्रमुख आचार्यले अतिक्रमण गर्ने क्रममा आफूहरुलाई भेदभाव गरिएकोसमेत गुनासो गरे ।

अहिले बञ्चरेडाँडामा स्थायी फोहर व्यवस्थापन नगरेर ओखरपौवा र सिसडोलका क्षेत्रलाई नै बढाएर फोहर फालिएको उनले बताए । “हामीले बारम्बार अनधिकृत गरिएको बञ्चरेडाँडामा स्थायी संरचना बनाउने भनेका छौं”, उनले भने, “तर सरकारले सुनेको नसुनेको जस्तै ओखरपौवा र सिसडोल क्षेत्रको जग्गामाथिसम्म बढाएर अनधिकृत जग्गा बढाएर फोहर फालेको छ ।” फोहर फाल्ने ठाउँमा सरकारले त्यहाँका जनतालाई स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य चौकी, एम्बुलेन्स, पशु बीमा, बाली बीमा जस्ता कार्यक्रम ल्याउने भने तापनि अझै दिएको छैन । नगर प्रमुख आचार्यले नगरपालिकाको पहलमा त्यहाँका जनताका लागि स्वास्थ्य चौकी स्थापना गर्न थालिएको बताए ।

धुनेवेंशी नगरपालिका–१ का वडाध्यक्ष चन्द्र तामाङले फोहरका लागि अधिकरण गरिएको बञ्चरेडाँडामा डम्पिङसाइट चाँडै बनाएर स्थानीयवासीलाई फोहरको दुर्गन्धबाट बचाउनुपर्ने बताए । उनले काठमाडौँको फोहरले धुनवेंशीका जनताले दुर्गन्धितमा बस्नुपरेको बताए । यस्तै सरकारले आफू जग्गा अधिग्रहण गरे पनि त्यसको मुआब्जासमेत १०० घरपरिवारले नपाएको तामाङले बताए ।

यसैगरी ककनी गाउँपालिकाका अध्यक्ष लामाले सहमतिअनुसार अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिएको बताए । उनका अनुसार अधिग्रहण गरिएका जग्गा फोहरले बस्न नसकेकोपछि स्थानीयले त्यतिकै छाडेरसमेत गएका छन् ।

Advertisement

Advertisement

Advertisement